ह्वाईटहाउस अन्डर–१९ बास्केटबल प्रतियोगितामा पुरुषतर्फ ग्राण्डी स्पोर्टस् सेन्टर र महिलातर्फ जेभिएर कलेज विजयी भएको छ।
महिलातर्फको फाइनल खेलमा जेभिएर कलेजले बलर्स एकेडेमीलाई २८ः२१ अन्तरले स्तब्ध पारेको हो। पुरुषतर्फ भने ग्राण्डीले टाइम्स कलेजलाई ६१ः५६ अन्तरले पराजित गरेको हो। विजेता टोलीले नगद बिस हजार र मेडल तथा प्रमाणपत्र र उपविजेता टोलीले नगद दश हजार प्राप्त गरेको कलेजका खेलकुद विभाग प्रमुख गगन आचार्यले बताए।
तिनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजको आयोजना माघ २ गतेदेखि ९ गतेसम्म जारी प्रतियोगितामा विभिन्न कलेज र प्रतिष्ठानका ११ टोली सहभागी थिए। प्रतियोगिताको अन्तिम खेल कलेज प्राङ्गणमा सम्पन्न भएको थियो। कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले विजयी टोलीलाई सम्मान गरेका थिए।
‘चिसो मौसममा विद्यार्थीहरूलाई खेलकुदबाट स्वास्थ्य सचेतना र नेतृत्व विकासका लागि अन्तर कलेज स्तरीय प्रतियोगिता आयोजना गरेका हौँ। एक दर्जन टोलीको सक्रिय सहभागीताले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।’ कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले भने। बास्केटबलबाहेक पनि स्पोर्टस् विकमा कलेज भित्रका प्रतिस्प्रधामा क्रिकेट, भलिबल, फुटसल, टेबल टेनिस लगायतका खेलहरू सम्पन्न भएका छन्।
प्रतियोगितामा ट्रिनिटी, जेभिएर, निस्ट कलेज, टाइम्स कलेज, ज्ञान निकेतन कलेज, ग्राण्डी स्पोर्टस् सेन्टर, ह्वाइटहाउस कलेज, एलआरआई, ओमेगा कलेज, रोयल स्पोर्टस् एकेडेमी र बलर्स एकेडेमी लगायतका टोली सहभागी भएका थिए।
[तस्विरमा हेर्नुहोस]

































प्रतिक्रिया