त्रिकोणात्मक श्रृंखलाअघि कप्तान पौडेलले भने- सुखद् नतिजा निकाल्न तयार छाैँ

त्रिकोणात्मक श्रृंखलाअघि कप्तान पौडेलले भने- सुखद् नतिजा निकाल्न तयार छाैँ

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र आयोजक नेपालबीच मंगलवारबाट आयोजना हुने त्रिकोणात्मक श्रृंखलामा सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार रहेको बताएका छन् । 

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता शुरु हुनुपूर्व आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताएका हुन् । एक साता अघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईसँग आफूले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भएपनि घुलमिल सहजै भएको बताए । 

प्रशिक्षक देशाईको प्रशिक्षणमा टोली राम्रो भएको कप्तान पौडेलले बताए । घरेलु मैदानमा हुने श्रृंखला निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको भरपुर सदुपयोग गर्ने बताए । 

यस्तै, नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले छोटो समयको क्याप निकै फलदायी भएको र १० दिनको अवधिमा आफूले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए ।  प्रशिक्षणको क्रममा उनले नेपाली खेलाडीमा आफूले धेरै क्षमता देखेको र खेलाडीले सो क्षमतालाई खेलमा कार्यन्वयन गर्नेमा आफू विश्वस्त रहेको बताए । श्रृंखला नेपाली टोलीका लागि निकै महत्वपूर्ण र कठिन भएको भन्दै सुखद् नतिजाका लागि खेल्ने प्रशिक्षक देशाईको भनाई छ । 

देशाईले मंगलवारबाट आयोजना हुने श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् भने श्रृंखलामा सहभागि हुन स्कटल्याण्ड र नामिबिया पनि नेपाली आइसकेका छन् ।  श्रृंखलामा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेल खेले ३७ अंकका साथ तालिकाकाे तेस्रो स्थानमा छ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फेब्रुअरी १४ मा खेल्नछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ ।

Logo