नेपाली धाविका सन्तोषीकाे बिदाई

नेपाली धाविका सन्तोषीकाे बिदाई

केन्द्रबिन्दु
0
Shares

अफ्रिकी राष्ट्र इथोपियाको राजधानी एडिस अबाबामा ३५ दिने प्रशिक्षण लिनका लागि नेपाली धाविका सन्तोषी श्रेष्ठ आईतवार प्रस्थान गर्दैछिन् ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषीलाई आईतवार बिदाई गरिएको हो । इथोपिया जान लागेकी सन्तोषीलाई आईतवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटि (एनओसी) को महासचिव तथा एनआरएस स्पोट्र्स फाउण्डेसनका फाउन्डर निलेन्द्रराज श्रेष्ठ, प्रशिक्षक रघु वन्तले एक कार्यक्रमकाबीच बिदाइ गरे ।

ग्लोवल स्पोट्र्स कम्युनिकेशनको छात्रवृत्ति, एनआरएनए स्पोट्र्स फाउण्डेसनको पहलमा सन्तोषीले इथोपियामा प्रशिक्षणको अवसर पाएकी हुन् । सन्तोषी इयर्ली ट्रस्टको आर्थिक सहयोग र ग्लोवल स्पोट्र्स एथलेटिक्स खेलाडीको व्यवस्थापनमा प्रशिक्षणमा जान लागेकी हुन् । सन्तोषीले विश्व च्यापियन तथा ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई प्रशिक्षण दिइसकेका मुख्य प्रशिक्षक टेसेमा अब्सहिरोसँग प्रशिक्षण लिनेछिन् । 

अब्सहिरोको प्रशिक्षण टोलीमा प्रशिक्षकद्वय टेस्हे गेमेचु र यालेमजेर्फ येहुअलाव रहेका छन् । सन्तोषी मार्च २२ मा इथोपियाबाट नेदरल्याण्ड्स जानेछिन् । नेदरल्याण्ड्समा सन्तोषीको मेडिकल परीक्षण र प्रशिक्षण हुनेछ । नेदरल्याण्ड्सपछि सन्तोषी बेलायतको लण्डन जाने  र लन्डनमा प्रशिक्षण र केही प्रतियोगितामा सहभागिता जनाउने प्रशिक्षक वन्तले जानकारी दिए ।

बिदाईपछि सन्तोषीले आफू भाग्यले ग्लोबल स्पोट्र्ससँग आवद्ध भएको बताउँदै इथोपियाको प्रशिक्षणले चीनमा आयोजना हुने एशियन गेम्समा आफ्नो प्रदर्शनमा सुधार हुनेमा विश्वास व्यक्त गरिन् । 

यस्तै, राखेप सदस्यसचिव घिसिङले सन्तोषीको प्रशिक्षणमा राखेपले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमकै बीच सन्तोषीलाई नेपाल भेटनरी एशोसिएशनले ५० हजार नगद आर्थिक सहयोग गरेको छ ।

Logo