सन्दीपको ४ विकेटसँगै नेपाल खेलमा फर्कियो

सन्दीपको ४ विकेटसँगै नेपाल खेलमा फर्कियो

केन्द्रबिन्दु
0
Shares

स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध खेलमा फर्किएको छ। टयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ३० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको छ । स्कटल्यान्डका म्याथ्यु क्रस २९ र ब्रेन्डन म्याकमुलन १० रनमा क्रिजमा छन् । स्कटल्यान्डका ओपनर जर्ज मुन्शे ५० बलमा ९ चौका र २ छक्कासहित ६० रनमा सन्दीप लामिछानेको बलमा बोल्ड हुन पुगेका थिए।

मुन्शे १४ औं ओभरको पाँचौं बलमा सन्दीपलाई लगातार तीन चौका हान्नेक्रममा बोल्ड हुन पुगेका थिए । मुन्शेको विकेटपछि भने नेपालले खेलमा पूनरागमन गरेको थियो । सन्दीपले लगत्तै अर्को बलमा कप्तान रिची बेरिंगटनलाई एलबीडब्लू आउट गर्दै शून्यमा पेभेलिएन फर्काउँदै ह्याट्रिक नजिक पुगेका थिए । १६ औं ओभरको पहिलो बलमा म्याथ्यु क्रसले दुई रन लिएपछि सन्दीप ह्याट्रिक गर्नबाट असफल भएका थिए । मुन्शेले ४६ बलमा आफ्नो ओडिआई करिअरको ११ औं अर्धशतक हानेका थिए । मुन्शेले पहिलो खेलमा नामिबियाविरुद्ध ६१ बलमा १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि मुन्शेलाई स्कटल्यान्डले विश्राम दिएको थियो । मुन्शेको आज ३० औं जन्मदिन समेत हो ।

पहिलो विकेटका लागि ओपनर जर्ज मुन्शे र काइल कोट्जरले ७।५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । स्पिनर सन्दीप लामिछानेले टियु एण्डबाट बलिङ गर्दै कोट्जरलाई २२ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सन्दीपको सामना गरेको पहिलो बलमै कोट्जर रिभरस्वीप खेल्ने धुनमा आउट भएका थिए । त्यसअघि लगातार दुई चौका हान्दै एक रन लिएर मुन्शेले स्ट्राइक दिएका थिए । कोट्जरले २३ बलमा ४ चौका हानेका थिए । कुशल मल्लले २१ औं ओभरको दोस्रो बलमा क्रिसटोफर म्याकब्राइडलाई २२ रनमा एलबीडब्लू आउट गरे । म्याकब्राइड पनि स्वीप शट खेल्ने चक्करमा आउट भएका थिए । सन्दीपले २२ औं ओभरको तेस्रो बलमा टम म्याकिन्टसलाई एक रनमा सन्दीप जोराबाट क्याच आउट गराए ।

एक समय १३.४ ओभरमा ८९–१ को बलियो अवस्थामा पुगेको स्कटल्यान्डलाई धरासयी पार्न सन्दीपले चार महत्वपूर्ण विकेट लिएका हुन् । सन्दीपले ६ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिएका थिए ।

Logo