पपुवा न्युगिनीविरुद्ध नेपालको कसिलो बलिङ

पपुवा न्युगिनीविरुद्ध नेपालको कसिलो बलिङ

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध राम्रो सुरुवात गरेको छ । 

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २५ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ९० रन बनाएको छ । कप्तान असाद भाला र अमिनी क्रिजमा छन् । 

नेपालका कसिलो बलिङमा पपुवा न्युगिनीका खेलाडी खुलेर प्रदर्शन गर्न सकेका छैनन् ।  

खेलको पाँचौं ओभरको पहिलो बलमा पपुवा न्युगिनीका आक्रामण ब्याटर टोनी उरालाई बोल्ड आउट गर्दै तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । ओपनर उरा २ रनमै समेटिएका थिए । 

त्यसपछि ओपनर किप्लिङ डोरिगा र सेसे बाउलाई तीव्र गतिका बलर गुलशन झाले आउट गरेका छन् । १६ औं ओभरको अन्तिम बलमा डोरिगालाई २९ रनमा क्याच आउट गराएका उनले सेसेलाई २३औँ ओभरको दोस्रो बलमा ३१ रनमा पेभेलियन फर्काए । दोस्रो विकेटका लागि डोरिगा र बाउले ५० रनको साझेदारी गरेका थिए ।

यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा सबै खेल जितेकाले नेपाली खेलाडीको मनोबल उच्च छ ।  नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । उसको विश्वकप यात्रा यसअघि नै रोकिसकिएको भए पनि नेपाललाई भने जीत्नु पर्ने दबाब छ ।

Logo