पीएनजीसँग घरेलु टोली युएईको लज्जास्पद हार, नेपाललाई फाइदा

पीएनजीसँग घरेलु टोली युएईको लज्जास्पद हार, नेपाललाई फाइदा

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली युएईले आइसीसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजमा लज्जास्पद हार व्यहोरेको छ । सिरिजमा मंगलबार भएको आफ्नो पहिलो खेलमा युएई पपुवा न्युगिनीसँग १३२ रनले पराजित भएको हो । 

पपुवा न्युगिनीले जितको लागि दिएको २६३ रनको लक्ष्य पछ्याएको युएई ३४.२ ओभरमा अलआउट हुँदै १३१ रनमा समेटिएको हो । पपुवा न्युगिनीको कसिलो बलिङका सामू युएईका खेलाडी क्रिजमा टिक्न सकेनन् । 

युएईका लागि ओपनर मोहम्मद वासिम २४ रनमा आउट भए । त्यस्तै, वृत्य अरविन्द र जाहुर खानले समान २३/२३ रन बनाए भने अशिफ खानले २० रन तथा अलिशान शारफूले १४ रन जोडे । 

बलिङतर्फ पपुवा न्युगिनीका तीव्र गतिका बलर चाद सोपरले सर्वाधिक ५ विकेट लिए । त्यस्तै, कप्तान असाद भाला, नर्मन भनुआ र सिमो कमिया र रिले हेकुरेले एकएक विकेट लिए । 

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९.१ ओभरमा २६२ रनमा अल आउट भएको थियो । पीएनजीका लागि सेसे बाउ र टोनी उराले अर्धशतकीय ईनिङ खेले । बाउले ७६ बलमा ७४ रन बनाउँदा उराले ४३ बलमा ५१ रन बनाए । 

May be an image of 2 people, people playing sports and text

त्यस्तै, किप्लिङ डोरिगाले ४२ रन, गौडी टोकाले २८ रन तथा कप्तान भालाले  २३ रन जोडे । 

बलिङतर्फ युएईका स्पिनर कार्तिक मियाप्पनले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, अर्यान लर्कानले ३ विकेट तथा र जहुर खानले २ विकेट लिए । रोहन मुस्ताफको नाममा १ विकेट रह्यो । 

यो हारसँगै युएईले नेपालसँगको अंक दुरी भने बढाउनबाट वञ्चित बनेको छ । युएई २९ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । पीएनजीको ३० खेलमा २ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा रहेको छ । पपुवा न्युगिनीले पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्ने पक्का भई सकेको छ । 

यस सिरिजमा नेपालले पहिलो खेल जितिसकेको छ । सोमबार भएको खेलमा पपुवा न्युगिनीमाथि नेपालले ४ विकेटको जित दर्ता गरेको थियो । लिग २ मा नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । नेपाललाई शीर्ष तीनमा रहँदै आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न अब बाँकी रहेका ७ खेलमध्ये ६ खेल जित्नुपर्ने हुन्छ । 

नेपालले बिहीवार घरेलु टोली युएईसँग खेल्दैछ । ओडिआई क्रिकेटमा पहिलो पटक लगातार पाँच जित हात पारिसकेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रदैँछ । नेपालले गत साता घरेलु मैदानमा सम्पन्न लिग च्याम्पियन स्कटल्यान्ड र नामिबियाविरुद्धको त्रिकोणात्मक ओडिआई सिरिज ‘क्लिन स्विप’ गरेको थियो । 

Skip This
Skip This
Logo