आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालको विजयी यात्रामा पूर्णविराम लागेको छ । बिहीवार घरेलु टोली युएईसँग नेपाल ६९ रनले पराजित भएको हो ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा युएईले दिएको २०८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा अलआउट हुँदै १३९ रनमै समेटिएको हो । नेपालका लागि युवा अलराउण्डर कुशल मल्लले अर्धशतक प्रहार गर्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न नै सकेनन् । मल्लले सर्वाधिक ६० रन जोडे । त्यस्तै, दशौँ नंबरमा आएका सन्दीप लामिछानेले २६ रन तथा आशिफ शेख १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
बलिङतर्फ रोहन मुस्ताफा र कार्तिक मेयापानले समान ३/३ विकेट लिए । त्यस्तै, जुनैद सिद्धिकीले समान २ विकेट लिए ।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । युएईका लागि आशिफ खान र रोहन मुस्ताफाले अर्धशतकिय इनिङ्स खेले । आशिफले बलमा सर्वाधिक ७२ रन जोडे । रोहन ५३ रनमा अविजित रहे । साथै अर्यान लाक्राले २८ रन जोडे भने कप्तान सीपी रिजवानले २२ रन, वृत्य अरविन्दले १८ रन बनाए ।
बलिङतर्फ नेपालका लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, करण केसी, कुशल मल्ल र आरिफ शेखले एकएक विकेट लिए ।
योसँगै आईसीसी विश्वकप लिग–२ अन्तर्गत लगातार पाँचौँ खेलमा विजयी हासिल गरेको नेपालको यात्रा युएईविरुद्ध भने रोकिएको छ । पाँचौँ स्थानमा उक्लने मौकासमेत गुमाएको छ । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग टूको साइकलमा युएई ३० खेलमा ३१ अंकसहित पाँचौँ स्थानमा छ । नेपाल पनि समान खेलमा २८ अंकसहित छैटौं स्थानमा छ ।





























प्रतिक्रिया