ललितपुरमा हाफ म्याराथन प्रतियोगिता : विजेताले एक लाख पाउने

ललितपुरमा हाफ म्याराथन प्रतियोगिता : विजेताले एक लाख पाउने

केन्द्रबिन्दु
0
Shares

ललितपुरको गोदावरी नगरपालिकाको छैटौं स्थापना दिवसको अवसरमा फागुन २७ गते शनिबार हाफ म्याराथन र अन्तर विद्यालय दौड प्रतियोगिता आयोजना हुने भएको छ । उक्त दिवसमा २१ किमी खुला च्याम्पियन हाफ म्याराथन र १० किमी अन्तरविद्यालय दौड प्रतियोगिता हुने भएको हो ।

नगरप्रमुख गजेन्द्र महर्जनका अनुसार कुल २१ किमी खुला च्याम्पियन हाफ म्याराथनमा प्रथम हुनेले  एक लाख रुपैयाँ पुरस्कार हात पार्नेछन् भने दोस्रो हुनेले ७५ हजार रुपैयाँ, तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । साथै, चौथो हुनेले  ३० हजार, पाँचौँ हुनेले २५ हजार, छैटौँले  १५ हजार, सातौँले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

हाफ म्याराथन गोदावरी नगरपालिकाबाट सुरु भइ झरुवारासी पोखरीचौर, बडिखेल चोक,टौखेल चोक,गोदावरी बसपार्क,विशङ्खुनारायण,वडा नं २ कार्यालय,बाँडेगाउँ प्रहरी प्रभाग,भट्टराई आश्रम, वडा नं १३ कार्यालय,भलि पुचः पार्टी प्यालेस,ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकी हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ । 

त्यस्तै १० किमी अन्तरविद्यालय दौड प्रतियोगितामा प्रथम हुनेले नगर  ३५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । त्यस्तै दोस्रोले  ३० हजार, तेस्रोले  २५ हजार, चौथोले  २० हजार, पाँचौँले  १५ हजार, छैटौँले  १० हजार, सातौँले  पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

अन्तरविद्यालय दौड प्रतियोगिता गोदावरी नगरपालिकाबाट सुरु भएर बडिखेल चोक, टौखेल चोक, भट्टराई आश्रम, वडा नं १३ कार्यालय,भलि पुचः पार्टी प्यालेस,ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकीबाट चापागाउँ ट्याक्सी पार्क हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ । 

हाफ म्याराथन प्रतियोगितामा भाग लिन चाहानेले रु सात सय र अन्तरविद्यालय दौड प्रतियोगितामा भाग लिन चाहानेले पाँच सय दर्ता शुल्क तिरेर यही फागुन २२ गतेसम्म नगरपालिकाको प्रशासन शाखामा दर्ता गरिसक्नुपर्ने जनाइएको छ । 

नगरप्रमुख महर्जनले परिणामका लागि काम हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नागरिकको आवश्यकतालाई प्राथामिकतामा राखेर काम गर्दै छ वर्ष पूरा भएको बताए । “मेरो दोस्रो कार्यकालको पहिलो आर्थिक वर्षमा हामीले शिक्षा र स्वास्थ्य, खेलकुद र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, उनले भने, “शैक्षिक बेरोजगारको व्यवस्थापनसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हामीले स्वयंसेवक शिक्षकको व्यवस्था गरेका छौँ ।”

Logo