जावलाखेलसँग रोकियो एपिएफ, डोम्बियालाई पहिलो रेड कार्ड

जावलाखेलसँग रोकियो एपिएफ, डोम्बियालाई पहिलो रेड कार्ड

केन्द्रबिन्दु
0
Shares

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपिएफ जावलाखेल युथ क्लवसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपिएफ जावलाखेलसँग गोल रहित बराबरीमा रोकिँदै अंक बाँडेको हो । 

दुबै टोलीले खेल अवधि भर गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन । १० खेलाडीमा समेटिएको एपिएफबिरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जावलाखेल युथ क्लवले एक अंकमा चित्त बुझाएको हो ।

खेलको ६९औं मिनेटमा जावलाखेलका स्ट्राइकर हिसुब थपलियालाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले एडामा डोम्बियालाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदान पठाएका थिए । तर उक्त निर्णयमा चर्को आपत्ति देखाएपछि रेफ्री क्षेत्रीले डोम्बियालाई सोझै रातो कार्ड देखाएका हुन् । 

यसअघि दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग चुकेका थिए । २४औं मिनेटमा जावलाखेलका फोडे फोफानाको प्रहार एपिएफका गोकिपर एञ्जल श्रेष्ठले बचाएका थिए । त्यसको पाँच मिनेटपछि एन्जलले नै एनकोटो मेसोबीको प्रहार बचाउँदा जावलाखेलले अग्रता लिन असफल भएको थियो । 

३२ औं मिनेटमा एपिएफका हरि कार्कीले गोलको सुनौलोको अवसर गुमाए । ३९ औं मिनेटमा प्रदीप लामाको प्रभावशाली प्रहार जावलाखेल गोलकिपर अनिश देउलाले बचाएका थिए । ४७ औं मिनेटमा एपिएफका सनिश श्रेष्ठको प्रहार अनिशले बचाए  । त्यस्तै ६८ औं मिनेटमा जावलाखेलका अब्दुलाजिज निशेनबेइभको प्रहार बाहिरिएको थियो ।

यस बराबरीपछि जावलाखेलको तीन खेलमा सात अंक भएको छ । एपिएफको समान खेलबाट चार अंक भएको छ । जावालखेलले यसअघि साविक विजेता मछिन्द्र फुटबल क्लवलाई ३–१ तथा न्युरोड टिम (एनआरटी) लाई २–१ पराजित गरेको थियो । यसैगरी थ्री स्टार क्लवलाई २–० ले पराजित गरेको एपिएफले सातदोबाटो युथ क्लवसँग १–० को हार व्यहोरेको थियो ।

लिगमा आईतवार दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङ्दी फुटबल क्लव र मच्छिन्द्र फुटबल क्लब तथा च्यासल मैदानमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ । 

Logo