नेपालसँग खेल्नुअघि युएईको सानदार जित, वासिमको कीर्तिमानी शतक

नेपालसँग खेल्नुअघि युएईको सानदार जित, वासिमको कीर्तिमानी शतक

केन्द्रबिन्दु
0
Shares

युएईले आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि सानदार जित हात पारेको छ । बुधबार भएको खेलमा युएईले ६ विकेटको जित दर्ता गरेको हो । 

टीयु क्रिकेट मैदानमा पपुवा न्युगिनीले दिएको २३५ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । युएईका लागि कप्तान मोहम्मद वासिमले कीर्तिमानी शतकीय इनिङ्स खेले । उनले ७६ बलमा १२ छक्का र ६ चौकाको मदतमा ११९ रन जोडे । उनले युएईबाट सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाए ।

साथै सीपी रिजवान २९ रनमा  अविजित रहँदा वृत्य अरविन्दले ३३ रन, तथा आयान अज्फल खानले २७ रन जोडे । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको थियो । पीएनजीका लागि कप्तान असद भालाले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । साथै सातौँ नबंरमा मैदानमा आएका नर्मन भानुवा ४९ रनमा अविजित रहँदा राइली हेकुरेले ३३ रन, किप्लिन डोरिगाले २४ रन र चाल्र्स अमिनीले २२ रन जोडे । 

बलिङतर्फ युएईका हर्जत बिलालले ४ विकेट लिए भने जावर फरिद र रोहन मुस्ताफाले समान १/१ विकेट लिए । 

जितसँगै युएई ३५ खेलमा ३३ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । पिएनजीले भने आज अन्तिम खेल खेल्दै लिग २ को यात्रा टुंग्याएको छ । पिएनजी ३६ खेलमा ११ अंकका साथ पुछारमा छ । जारी सिरिजमा युएईको यो पहिलो जित हो । यसअघि युएई पीएनजी र घरेलु टोली नेपालसँग पराजित भएको थियो । 

नेपालले बिहीबार युएईसँग अन्तिम खेल खेल्दैछ । सो खेलमा युएईलाई पाखा लगाउन सके सोझै जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएमा वा कुनै विशेष कारणवश अंक बाँड्नु परेमा भने नेपालले क्वालिफायर खेल्नुपर्ने हुन्छ । नेपालले एकदिवसीय मान्यता भने जोगाइसकेको छ । 

Logo