दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजमाथि ऐतिहासिक जित हात पारेको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले टि२० आई इतिहासमा सर्वाधिक ठूलो योगफल पूरा गर्दै वेस्टइन्डिजमाथि ६ विकेटको जित दर्ता गरेको हो ।
सुपर स्पोर्ट्स पार्क सेन्चुरियनमा जिततको लागि २५९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । यो टि२० आई इतिहासकै उच्च योगफल पूरा भएको हो । यसअघि टि२० आईमा सर्वाधिक ठूलो लक्ष्य अष्ट्रेलियाले २०१८ मा न्युजिल्यान्डले दिएको २ सय ४४ रनको लक्ष्य पूरा गरेको थियो ।
दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डि ककले सानदार शतकीय इनिङ खेले । उनले ४४ बलमा ९ चौका र ८ छक्कासहित १ सय रन जोडे । त्यस्तै, अर्का ओपनर रिजा हेन्ड्रिक्स .६८ रनमा आउट भए । साथै कप्तान एइडन मारक्रम ३८ रन र हेनरिच क्लासेन समान १६ रनमा अविजित रहँदा राइले रुसोले १६ र डेविड मिलरले १० रन जोडे ।
वेस्टइन्डिजका जेसन होल्डर, ओडेन स्मिथ, रायमन रिफर र रोभम्यान पावेलले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५८ रन बनाएको थियो । यो वेस्टइन्डिजको टि२० आई इतिहासकै उच्च योगफल हो । वेस्टइन्डिजका लागि जोनसन चार्ल्सले ४६ बलमा १० चौका र ११ छक्कासहित १ सय १८ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । साथै काइल मेयर्स ५१ रनमा आउट हुँदा कप्तान रोभमन पावेलले २८ रन जोडे । रोमारियो शेफर्ड १८ बलमा १ चौका र ४ छक्कासहित ४१ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका मार्को जानसेनले ३ र वायने पार्नेलले २ विकेट लिए ।
योसँगै तीन खेलको टि२० आई सिरिज १-१ को बराबरीमा रोकिएको छ । पहिलो खेलमा वेस्टइन्डिज तीन विकेटले विजयी भएको थियो । अबतेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।





























प्रतिक्रिया