भियतनामसँग सुखद् नतिजाको अपेक्षा लिएका छौं -प्रशिक्षक थापा

भियतनामसँग सुखद् नतिजाको अपेक्षा लिएका छौं -प्रशिक्षक थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले पेरिस ओलम्पिक महिला एशिया छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले पाहुना टोली भियतनामसँग सुखद् नतिजाका लागि खेल्ने बताएका छन् । 

मंगलवार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजना भएको खेल अघिको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्य प्रशिक्षक थापाले फिफा वरियतामा नेपाल भन्दा निकै माथि रहेको टोलीबिरुद्ध राम्रो प्रदर्शन गर्दै सुखद् नतिजाका लागि खेल्ने बताएका हुन् । 

बलियो टोलीबिरुद्ध खेल्दा अनुभवि खेलाडीद्वय गीता राना र प्रिति राई चोटका कारण मैदान बाहिर रहेपनि टोलीमा अन्य राम्रा खेलाडी भएको र उनीहरुको अनुपस्थितिमा पनि टोलीले राम्रो खेल्ने बताए । 

पछिल्लो पटक भारतसँगको मैत्रिपूर्ण खेलमा हासिल गरेको उपलब्धिले टोलीमा खेलाडीलाई निकै सकारात्मक वातावरण मिलेको र उक्त खेलबाट टोलीको सबल र दुर्बल दुवै पक्ष निर्धारण भइ सुधार्ने प्रयास गरेको प्रशिक्षक थापाले बताए । 

भियतनामसँग हुने दुई खेलबाट नेपाली टोली राम्रो टोलीका रुपमा प्रमाणित गर्ने अवसर भएको समेत उनले थपे ।
 
यस्तै, नेपाली टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले पहिलो पटक प्रतिष्पर्धा गर्न लागेको टोली भियतनामसँग प्रशिक्षकले भनेजस्तै अन्तिम सयमसम्म सुखद् नतिजा निकाल्ने  प्रयास गर्ने बताइन् । उनले फुटबल अनिश्चित खेल भएको र यसअघि पनि ओलम्पिक खेलमा बलियो म्यानमारबिरुद्ध खेल्दा बराबरी खेलेको स्मरण गर्दैै राम्रो खेल्ने वाचा गरिन् । 

फिफा वरियतामा माथिल्लो स्थानमा रहेपनि फुटबलमा असम्भव नहुने भन्दै एञ्जिलाले अन्तिम समयसम्म सुखद् नतिजाका लागि खेल्ने बताइन् । घरेलु मैदानमा आयोजना हुने खेलमा आफ्नो टोली जितका लागि नै खेल्ने उनले बताइन् । 

उता फिफा विश्व वरियताको ३३ औं स्थानमा रहेको भियतनामले नेपालमा हुन लागेको छनोट खेलका दुई खेलमा सुखद् नतिजा निकाल्नका लागि आएको बताएको छ । खेल अघिको पत्रकार सम्मेलनमा भियतनाम टोलीकी कप्तान हुइङ निङले नेपालबिरुद्ध हुने खेलमा जित निकाल्ने लक्ष्यका साथ भ्रमण गरेको बताइन् । प्रतिष्पर्धा गर्ने टोलीको वरियता जुन कुनै अवस्थामा रहेपनि सम्मान गर्दै खेल्ने समेत उनले बताइन् । 

यस्तै, प्रशिक्षक माइ डक चुङले लामो यात्रापछि नेपालमा आएर फुटबल खेल्नका लागि आफ्नो टोली उत्साहित भएको बताए । उनले नेपाली टोलीसँग यसअघि कहिल्यै पनि नखेलेको तर राम्रो खेल्ने सुनेको भन्दै घरेलु टोलीबिरुद्ध जित निकै महत्वपूर्ण हुने बताए । नेपाली टोलीमा स्ट्राइकर सावित्रा भण्डारी राम्रो रहेको सुनेको र उनलाई रोक्दै खेल्ने रणनीति बनाएको समेत बताए । 
 
नेपालमा आयोजना हुन लागेको छनोट खेलका लागि सोमवार पाहुना टोली भियतनाम नेपाल आइपुगेको छ । नेपाल र भियतनाम सम्मिलित टोलीमा प्यालेस्टाइन र अफगानिस्तान रहेपनि अन्तिम समयमा दुई टोलीले आन्तररिक कारण देखाउँदै नाम फिर्ता लिएपछि दुई टोलीबीचमात्र प्रतिष्पर्धा हुन लागेको हो । 

छनोट अन्तर्गत समूह सी मा नेपाल र भियतनामले प्रतिष्पर्धा गर्न लागेका हुन् । छनोट खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । पहिलो खेल नेपालले भियतनाम चैत २२ र २५ गते खेल्नेछ । दुवै खेल साँझ ६ बजेबाट हुनेछन् । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ ।

Skip This
Skip This
Logo