बायर्न म्युनिख जर्मन डिएफवी पोकलको क्वाटरफाइनलबाट बाहिरिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बायर्न फ्रेइवर्गसँग २-१ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
खेलको २०औँ मिनेटमा डेअट उपमेकानोको गोलबाट बायर्नले सुरुवाती अग्रता सलन सफल भएको थियो । तर त्यो अग्रतालाई बायर्नले जोगाउन नसक्दा पराजित हुँदै बाहिरिन पुग्यो । २७औँ मिनेटमा निकोलस होफलेरले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलमा फ्रेइवर्गका निकोलस होफलेर र लुकास होलेरले गोल गर्दा बायर्नका डेअट उपमेकानोको गोल सान्त्वना बन्यो ।
अतिरिक्त समयतर्फ लम्किरहेको खेलको इन्ज्युरी समयको थप गरिएको पाँचौँ मिनेटमा लुकासले पेनाल्टीमा गोल गर्दै फ्रेइवर्गलाई सेमिफाइनलको यात्रा तय गराए । जमल मुसिएलाले पेनाल्टी बक्समा होफलेरलाई फउलसँगै ब्लक गरेपछि रेफ्रीले फ्रेइवर्गलाई पेनाल्टी प्रदान गर्दा लुकास चुकेनन् ।
अर्काे क्वाटरफाइनलमा फ्रान्कफुर्टले युनियन बर्लिनलाई २-० ले पराजित गरी सेमिफाइनलमा पुगेको छ । फ्रान्कफुर्टको जितमा दुवै गोल रान्दल कोलो मुएनीले गरे।अर्काे क्वाटरफाइनलमा नर्नवर्ग र भिएफवी स्टुटगार्ट तथा आरबी लाइप्जिग र बोरुसिया डर्टमुन्डबीच प्रतिस्पर्धा हुँदैछ ।































प्रतिक्रिया