फ्रेण्ड्स क्लवलाई हराउँदै मनाङ शीर्ष स्थानमा

फ्रेण्ड्स क्लवलाई हराउँदै मनाङ शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

ललितपुरे टोली फ्रेण्ड्स क्लवमाथि २–० को जित निकाल्दै मनाङ मर्स्याङ्दी फुटबल क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।  

च्यासल मैदानमा शुक्रवार सम्पन्न खेलमा मनाङले फ्रेण्ड्स क्लवलाई २–० गोल अन्तरले पछि पारेसँगै समान अंक भएको जावलाखेललाई अंक तालिकामा गोल अन्तरले पछि पार्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । 

रोमाञ्चक बनेको खेलमा मनाङलाई स्पष्ट अंक दिलाउन विदेशी खेलाडी कोफी टिमोथी कुदोले गरेका दुई गोल पर्याप्त बने । 

फ्रेण्ड्सबिरुद्ध शुरुवातबाट नै आक्रामक खेल देखाएको मनाङले पहिलो हाफ र दोस्रो हाफमा एक गोल गरेको थियो । यस्तै फ्रेण्ड्सले पछि परेको अवस्थामा खेलमा फर्किन प्रयास गरेपनि असफल भएको थियो । खेलको ३४ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–० को जित दिलासँगै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।

यस जितसँगै मनाङको अपराजित यात्रा कायमै रहेको छ । मनाङले छैठौं खेल खेल्दा चार जित र दुई बराबरी खेलेको छ । मनाङले ६ खेलमा १४ अंक जोडेको छ । उता अंक सुम्पिएको फ्रेण्ड्स ४ अंक जोडेर १२ औं स्थानमा छ ।

लिग अन्तर्गत अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको अर्को खेलमा जावलाखेल युथ क्लव र खुमलटार युथ क्लवले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ । जावलाखेल दोस्रो स्थानमा झरेको छ । यस्तै खुमलटार ७ खेलमा ७ अंक जोडेर नवौं स्थानमा छ । 

Logo