केसीको नेतृत्वमा संकटामाथि मच्छिन्द्रकाे जित

केसीको नेतृत्वमा संकटामाथि मच्छिन्द्रकाे जित

केन्द्रबिन्दु
0
Shares

किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले आईतवार शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रलाई दोस्रो जित दिलाउने क्रममा विमल घर्ती मगरले र विदेशी खेलाडी आफिज ओलावालेले एक/एक गोल गरे । यस्तै, संकटाका लागि मनिष डाँगीले एक गोल फर्काए । 

मुख्य प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएपछि प्रशिक्षक बिहीन भएको मच्छिन्द्रले आईतवार मात्र किशोरकुमार केसीलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाएको पहिलो मौकामा बलियो संकटासँग मच्छिन्द्रले अंक खोस्न सफल भएको हो ।

प्रतिष्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रका लागि विमल घर्ती मगरले खेलको २० औं मिनेटमा गोल गर्दै टोलीको खाता खोलेका थिए । मैदानको मध्य भागबाट उपलब्ध भएको पासलाई विमलले अगाडि बढाएर गोलकिपरलाई बिट गर्दै जाली चुमाउन सफल भएका थिए । दुई मिनेटपछि नै मनिषले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बललाई गोलमा परिणत गरेका थिए । त्यसपछिको पहिलो हाफ बराबरीमा सकियो । दोस्रो हाफमा आक्रामक शैलिमा उत्रिएको मच्छिन्द्रले ४६ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई २–१ अग्रता दिलाए । 

भुटानी रोनाल्डो चेन्चो ग्याल्सेनसहित उत्रिएको मच्छिन्द्रले बाँकी समयमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । यस्तै संकटाले पनि केही अवसर खेर फाल्न पुगेको थियो । इन्जुरी समयमा चेन्चोले अग्रता दिलाउने सुवर्ण अवसर गुमाए । आन्द्रेस नियाले उपलब्ध गराएको पासलाई चेन्चोले गोलका लागि प्रयास गरे पनि उनको प्रहार गोलकिपरले सहजै बचाएका थिए ।

यस जितसँगै मच्छिन्द्रले ७ खेलमा ९ अंक जोडेको छ । मच्छिन्द्र सातौं स्थानमा उक्लिएको छ भने जारी लिगमा दोस्रो जित पनि निकालेको हो । उता संकटाको भने यो दोस्रो हार हो । संकटा ९ अंक जोडेर आठौं स्थानमा छ ।

Logo