आइपिएलमा चेन्नईसँग बेंगलोर पराजित

आइपिएलमा चेन्नईसँग बेंगलोर पराजित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २४ औँ खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ रनले पराजित गरेको छ। यो जितसँगै चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि २ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले ३६ बलमा ३ चौका र ८ छक्कासहित ७६ रनको विष्फोटक इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

कप्तान फाफ डु प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनमा आउट भए। तर तल्लोक्रमका ब्याटर नचलेपछि बेंगलोर पराजित भएको हो । एक समय १५-२ को खराब सुरुवात गरेको बेंगलोरलाई तेस्रो विकेटका लागि म्याक्सवेल र डु प्लेसिसले ६१ बलमा १ सय २६ रनको सानदार शतकीय साझेदारीका साथ खेलमा हाबी बनाएका थिए ।

एक समय बेंगलोर १२ ओभरमा १४१-२ को बलियो अवस्थामा थियो । १३ औँ ओभरको पहिलो बलमा म्याक्सवेल आउट भएपछि लगातार विकेट गुमाएको थियो । बेंगलोरका प्रमुख खेलाडी विराट कोहली पहिलो ओभरको चौथो बलमा आकाश सिंहको बलमा ६ रनमा बोल्ड भएका थिए ।

महिपाल लोमर शून्यमा क्याच आउट भए । म्याक्सवेल र डु प्लेसिसको शतकीय साझेदारी स्पिनर महेश थिक्सेनाले तोडेका थिए । उनले विकेटकिपर धोनीबाट क्याच गराउँदै उक्त साझेदारीमा पूर्णविराम लगाए । डु प्लेसिस पनि मोईन अलीको बलमा धोनीबाट क्याच आउट भए ।

दीनेश कार्तिक १४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा क्याच आउट भए । बेंगलोरलाई जितको लागि अन्तिम १८ बलमा ३५ रन चाहिँएको थियो । १८ औँ ओभरमा युवा तीव्र गतिका बलर मथिसा पाथिरानाले मात्रै ४ रन खर्चेर १ विकेट लिएपछि चेन्नई जिततर्फ अघि बढेको थियो । शहबाज अहमद १२, सुयश प्रभुदेशाई १९ र वायन पार्नेल २ रनमा आउट भए ।

चेन्नईका तीव्र गतिका बलर तुषार देशपान्डेले ४ ओभरमा ४५ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । मथिसा पाथिरानाले दुई, आकाश सिंह, मोईन अली र महेश थिक्सेनाले समान एक विकेट लिए ।

त्यसअघि बेंगलोरको घरेलु मैदान चिन्नास्वामीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो। चेन्नईको जितमा ओपनर डेभन कन्वेले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिएका थिए ।

चेन्नई ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । राजस्थान रोयल्स ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ शीर्ष स्थानमाछ । लखनऊ ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ नेटरनरेटमा माथि रहँदै दोस्रो स्थानमा छ । बेंगलोर ५ खेलमा २ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ । दिल्ली पाँचै खेलमा पराजित हुँदै पुछारमा छ ।

Logo