जर्मन च्याम्पियन बायर्न म्युनिखको चुनौती पन्छाउँदै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बजर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोकिएपनि समग्रमा ४–१ को जितसहित सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो। सिटीले पहिलो लेगमा ३–० को जित निकालेको थियो ।
एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा सिटीका लागि नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले गोल गर्दा घरेलु टोली बायर्नका योसुवा किम्मिखले बराबरी गोल फर्काए ।
घरेलु टोली बायर्नले खेलमा बल पोसेसन राख्दै सिटीलाई दवावमा राखेपनि नतिजा परिवर्त गर्न नसक्दा पराजित हुन पुग्यो । पहिलो हाफकै सिटीका हालान्डल पेनाल्टी चुकाएका थिए ।
डेअट उपमेकानोले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गर्दा हालान्ड चुके । पेनाल्टीमा चुकेका हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।
जोन स्टोन्सको क्लियरेन्सलाई केभिन डि ब्रुएनाले नियन्त्रणमा लिदै दिएको पासमा हालान्डले उपमेकानोलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।
अब सिटीले सेमिफाइनलमा कीर्तिमानी १४ पटकको तथा साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडसँग खेल्नेछ । रियलले इंग्लिस क्लब चेल्सीलाई समग्रमा ४–० ले पराजित गरी सेमिफाइनलमा पुगिसकेको छ । सेमिफाइनल ९ र १६ मेमा हुनेछ ।





























प्रतिक्रिया