ओमानविरुद्धको जितमा नेपालले बनाएका कीर्तिमान कुन–कुन हुन् ?

ओमानविरुद्धको जितमा नेपालले बनाएका कीर्तिमान कुन–कुन हुन् ?

केन्द्रबिन्दु
0
Shares

रेकर्डै रेकर्डले भरिएको एसिसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले ओमानविरुद्ध ८४ रनको शानदार जित हासिल गरेको छ । लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनदेखि एक जित टाढा रहेको छ । आजको खेलमा बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकमा नेपालले ओमानलाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको थियो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको हो । सोही टार्गेटलाई पछ्याउने क्रममा ओमानले ४६.३ ओभरमा २२६ रनमात्र बनाउन सक्यो । ओमानका ११औं ब्याट्सम्यान अकिब इलियास रिटायर्ट हार्ट भएपछि नेपाल ८४ रनले विजयी भयो । अकिब ओमानका प्रमुख ब्याट्म्यान हुन् । उनी तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन् । तर चोटका कारण उनी सुरुवात देखिनै ब्याटिङमा आएका थिएनन् । 

ओमानविरुद्ध आजको खेलमा नेपालले आफ्नो ओडिआई इतिहासमै सबैभन्दा बढी रनको योगफल बनायो ।

ओमानविरुद्ध आजको खेलमा नेपालले आफ्नो ओडिआई इतिहासमै सबैभन्दा बढी रनको योगफल बनायो । नेपालले अहिलेसम्म कुनै पनि ओडिआई खेलमा तीन सय रनको आकडा पूरा गरेको थिएन । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन बनाएको थियो । 

ओमानविरुद्ध शतक प्रहार गर्दा कुशलले चार राष्ट्रिय कीर्तिमान बनाए ।

शुक्रबारको खेलमा नेपालका बाँया हाते ब्याट्सम्यान कुशल मल्लले ओमानविरुद्ध धुवाँधार ब्याटिङ गर्दै शतक प्रहार गरे । अन्तर्राष्ट्रिय वन डेमा पहिलो शतक बनाउने क्रममा मल्लले ६४ बलमा १० छक्का र ९ चौकाको मद्दतमा १०८ रन बनाए । ओमानविरुद्ध शतक प्रहार गर्दा कुशलले चार राष्ट्रिय कीर्तिमान बनाए । उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेका हुन् । यसअघि सर्वाधिक छिटो एक दिवसीय शतकको कीर्तिमान कप्तान रोहितकुमार पौडेलको नाममा थियो । पौडेलले विश्वकप लिग २ अन्र्तगत पपुवा न्यूगिनीविरुद्ध ९१ बलमा शतक प्रहार गरेर बनाएको रेकर्ड मल्लले आफ्नो नाममा लेखाएका हुन् । रोहितले भन्दा ३२ कम ५९ बल खेलेर शतक बनाउँदै कुशलले उक्त कीर्तिमान पनि आफ्नो नाममा लेखाए । कुशलले आजको खेलमा बनाएको अर्को रेकर्ड हो सर्वाधिक छक्काको । खेलमा कुशलले कुल ६४ बलको सामना गर्दै १० छक्का प्रहार गरेका थिए । कुशलले ९६ रन त बाउन्ड्रीबाटै लिएका थिए । 

यसअघि ओडीआइमा सर्वाधिक छक्काको किर्तिमान कप्तान रोहितकुमार पौडेलकै नाममा रहेको थियो । पौडेलले ४५ एकदिवसीय खेलमा २३ छक्का हानेका थिए । तर, आजको म्याचपछि कुशलको ओडीआई छक्काको संख्या २८ पुगेको छ । 

कुशलले चार वर्षअघि एक दिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्दै सबैभन्दा कान्छो खेलाडीका रुपमा विश्वकीर्तिमान समेत बनाएका थिए ।

यस्तै, कुशल नेपालका लागि सबैभन्दा तल्लो क्रममा आएर शतक हान्ने अर्को कीर्तिमान पनि राख्न सफल भएका छन् । उनले आज छैटौं नम्बरमा आएर ब्याटिङ गरेका थिए । यसअघि शतक बनाउने ब्याट्सम्यानहरुमध्ये कुशल भुर्तेल र आसिफ शेखले ओपनिङमा ब्याटिङ गरेका थिए । यस्तै पूर्वकप्तान पारस खड्काले पनि यूएईविरुद्ध ओपनिङमै आएर शतक हानेका हुन् । दिपेन्द्र सिंह ऐरीले चौंथो तथा रोहितकुमार पौडेलले पाचौं नम्बरमा शतक बनाएका थिए । कुशल नेपालका लागि शतक हान्ने सबैभन्दा कान्छा खेलाडीसमेत बनेका छन् । उनी अहिले १९ वर्षका भए । नेपालका लागि शतक हान्ने अरु पाँचै जना खेलाडी कुशलभन्दा बढी उमेरका हुन् । कुशलले चार वर्षअघि एक दिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्दै सबैभन्दा कान्छो खेलाडीका रुपमा विश्वकीर्तिमान समेत बनाएका थिए । त्यसबेला कुशलको उमेर १५ वर्ष मात्र थियो ।

सन्दीपले ओमानका अदिल शफिकलाई एलबीडब्लु आउट गर्दै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

यस्तै आजको खेलमा सन्दीप लामिछानेले ओडिआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गरी अर्को रेकर्ड बनाएका छन् । सन्दीपले ओमानका अदिल शफिकलाई एलबीडब्लु आउट गर्दै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाएका हुन् । सन्दीपले मात्रै ४२ खेलमा १०२ विकेटको आकडा पूरा गरेका हुन् । यसअघि सर्वाधिक छिटो सय विकेटको कीर्तिमान अफ्गानिस्तानका राशिद खानको नाममा थियो । उनले ४४ खेलमा सय विकेट पूरा गरेका थिए । नेपालले आज ५०औं एकदिवसीय मान्यता प्राप्त खेल खेलेको छ । जुन आफैमा नेपाल जस्तो एसोसिएट्स राष्ट्रका लागि ठुलो उपलब्धि हो । 

 

Logo