अंशुमनको सानदार शतकमा युएईमाथि हङकङको जित

अंशुमनको सानदार शतकमा युएईमाथि हङकङको जित

केन्द्रबिन्दु
0
Shares

ओपनर अंशुमन रथको सानदार शतकमा हङकङले एसिसी प्रिमियर कपमा युएईमाथि सानदार जित हात पारेको छ । शुक्रबार भएको आफ्नो दोस्रो खेलमा हङकङले डकवर्थ लेविस पद्धतिको आधारमा युएईलाई ६७ रनले पराजित गरेको हो ।  

मुलपानी मैदानमा जितको लागि २६४ रनको विजयी लक्ष्य पछ्याएको युएईले २७ ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन बनाउँदा हाबाहुरीको कारण खेल रोकिएको हो । युएईका लागि आयन लाक्रा सर्वाधिक ५२ रनमा अविजित रहे । साथै रमिज शाहजदले ३४ रन जोड्नुबाहेक अन्य खेलाडी सस्तैमा समेटिए ।  

बलिङतर्फ हङकङका एहसान खानले २ विकेट लिए भने आयुश शुक्ला, अजिज खान, यासिम मुर्तजा र मोहम्मद गजानफरले समान एकएक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियाे । हङकङका लागि अंशुमनले शतक प्रहार गरे । उनले ११७ बलमा १०६ रन जोडे । साथै किञ्चित शाहले ३५ रन, अजिज खानले २७ रन तथा कप्तान निजाकत खानले २२ रन जोडे । पहिलो खेलमा सिंगापुरविरुद्ध शतक बनाएका अनुभवी खेलाडी बाबर हायत भने चल्न सकेनन् । 

बलिङतर्फ युएईका आयान अज्फल खानले सर्वाधिक ५ विकेट लिए । साथै सञ्चित शर्माले २ विकेट तथा जुनैदले एक विकेट लिए ।

हङकङले लगातार दोस्रो जितसँगै समूह बी बाट समूह विजेता बन्दै सेमिफाइनल खेल्ने सम्भावना उच्च बनाएको छ । समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । 

Logo