गुल्सन झा र भीम सार्कीले चौथो विकेटका लागि गरेको ९६ रनको साझेदारी काफी बन्दा नेपालले आगामी सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएको ११८ को लक्ष्य पछयाएको नेपालले ३० ओभर ३ बलमा ३ विकेटको खर्चलमा लक्ष्य पूरा गरेको थियो । नेपालले ७ विकेटले जित हात पार्दा गल्सन झा र भीम सार्कीले जमेर प्रदर्शन गरे ।
नेपालका लागि मध्यम गतिका बलर झाले ८४ बलको सामना गर्दै ३ चौका र ६ छक्काको सहयोगमा ६७ रन बनाएका थिए । यस्तै भीम सार्कीले पनि ७२ बल खेलेर ४ चौकाको सहयोगमा ४६ रन बनाएर झासंग साझेदारीलाई खेलको अन्त्यसम्म जारी राखे ।
तर, खेलका दौरान नेपाल र युएईका खेलाडीबीच भने केही विवाद पनि भएको छ । ओपनर आसिफ शेख र यूएईका रोहन मुस्तफाबीच नोकझोक भएको हो ।
नेपाली ब्याट्सम्यानलाई सुरुदेखि नै दबावमा राख्ने क्रममा आसिफ क्रिजमा छँदा मुस्तफा एकपछि अर्को कडा अपिल गरिरहेका थिए । उनीहरुबीच चौथो ओभरको तेस्रो बलमा भनाभन नै भयो । चोभार एण्डबाट बलिङमा आएका मुस्तफाले नन स्ट्राइकमा भएका आसिफलाई केहि भनेपछि आक्रोश हुँदै मुस्तफासँग कुरा गरेका थिए । केहि समय भनाभन भएको थियो । पछि अन्य खेलाडी आएर मिलाएका थिए ।
नेपाल विजयी भएपछि पनि दुई टोलीबीच ह्यान्डसेकका क्रममा मुस्तफा र आसिफबीच पुनः भनाभन भएको छ । आसिफले मुस्तफासँग हात मिलाउन चाहेनन् । त्यसक्रममा विवाद भएपछि ज्ञानेन्द्र मल्लले आसिफलाई तानेर लगेका थिए ।





























प्रतिक्रिया