सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकपछि सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले खेलाडी तथा मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको जानकारी दिइन् ।
उनले भनिन्, ‘एसिया क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही छ लाख र टिम अफिसियललाई जनही तीन लाख रुपैयाँका दरले रकम उपलब्ध गराएर प्रोत्साहन गर्ने भन्ने निर्णय भएको छ ।’
खेलकुद पुरस्कार कार्यविधिमा एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ । तर, मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार दिने भएको हो ।
मंगलबार फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।घरेलु मैदानमा तीन महिनाअघि सम्पन्न आइसीसी विश्वकप लिग -२ मा नेपालले देखाएको प्रसंशनीय प्रदर्शनपछि लय नगुमाएको नेपाली टोलीले अन्ततः भारत र पाकिस्तान सम्मिलित आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि स्थान बनाएको हाे ।





























प्रतिक्रिया