मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादमाथि सानदार जित हात पारेको छ । आइतबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा मुम्बईले हैदराबादमाथि ८ विकेटको जित दर्ता गरेको हो ।
हैदराबादले जितका लागि दिएको २०१ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । मुम्बईका लागि क्यामरुन ग्रिनले सानदार शतकीय इनिङ खेले । उनले ४६ बलमा ८ छक्का र ८ चौकासहित १०० रन जोडे । उनको यो आइपिएल करिअरमा पहिलो शतक हो । साथै कप्तान रोहितकुमार शर्माले रनको योगदान दिए । सूर्यकुमार यादव २५ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन बनाएको थियो । ओपनरद्वय मयंक अग्रवाल र विव्रन्त शर्माले सानदार ओपनिङ गरेका थिए । १४० रन बनाउँदा मात्र हैदराबादले पहिलो विकेट गुमाएको थियो । शर्मा ६९ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । साथै अग्रवालले विष्फोटिङ ब्याटिङ गर्दै ८३ रन जोडे ।
बलिङमा मुम्बईका आकाश मधवाल एक्लैले ४ विकेट लिए ।
यो जितसँगै मुम्बईले आइपिएलको अन्तिम प्लेअफमा स्थान बनाउनका बलियो दावेदारी प्रस्तुत गरेको छ । मुम्बई १४ खेलमा ८ मा जित र ६ मा हारका साथ १६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । तर, आजै हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्स भिड्दैछन् । बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंकका साथ पाँचौ स्थानमा छ । साविक विजेता गुजरात भने यसअघि नै प्लेअफमा पुगिसकेको छ । मुम्बईको नेटरनरेट माइनसमा हुँदा बेंगलोरको प्लसमा रहेको छ ।





























प्रतिक्रिया