अफगानिस्तानले श्रीलंकाविरुद्धको पहिलो ओडिआई खेलमा सहज जित हात पारेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली अफगानिस्तानले श्रीलंकामाथि उसकै मैदानमा ६ विकेटको जित दर्ता गरेको हो ।
श्रीलंकाले जितका लागि दिएको २६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य अफगानिस्तानले ४६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । अफगानिस्तानका लागि इब्राहिम जार्दनले सर्वाधिक ९८ रनको योगदान दिए । उनी ठूलो सटको खोजीमा क्याच आउट हुँदा शतकबाट चुके ।
साथै रहमद शाहले ५५ रनको अर्धशतकीय इनिङ खेले । हसमतुल्लाह शाहीदीले ३८ रन तथा मोहम्मद नावीले २७ रन जोडे ।
बलिङमा श्रीलंकाका कसुन रजिथाले २ विकेट तथा लाहिरु कुमारा र माथिसा पाथिरानाले समान एकएक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका निर्धारित ५० ओभरमा २ सय ६८ रनमा अल आउट भएको थियो । श्रीलंकाका चरिथ असलांका ९१ रनमा रन आउट भए । अन्तिम ओभरको पहिलो बलमा रन आउट भएपछि उनी ओडिआई करिअरको दोस्रो शतक बनाउन ९ रनले चुके ।
साथै धनन्जय डि सिल्भाले ५१ रनको अर्धशतकीय इनिङ खेल्दा पाथुम निसन्काले ३८ रन तथा दुसान हेमन्थले २२ रन जोडे ।
बलिङमा अफगानिस्तानका अफगानिस्तानका फजलहक फारुकी र फरिद अहमदले समान २२ विकेट लिँदा आजमतुल्लाह ओमरजाई, मुजिब उर रहमान, नूर अहमद र मोहम्मद नाबीको नाममा एकएक विकेट रह्यो ।
श्रीलंकाले तीन सातापछि जिम्बावेमा हुने विश्वकप छनोटअघि अफगानिस्तानसँग तीन खेलको ओडिआई सिरिज खेलेको हो । श्रीलंका विश्वकप छनोटमा समूह बी मा छ । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् । समूह ए मा नेपाल, जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन् ।





























प्रतिक्रिया