जिम्बावेलाई नेपालले दियाे २९१ रनकाे लक्ष्य, फिनिसिङ बन्यो फितलो

जिम्बावेलाई नेपालले दियाे २९१ रनकाे लक्ष्य, फिनिसिङ बन्यो फितलो

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । 

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ऐतिहासिक साझेदारी गरे । उनीहरुले पहिलो विकेटको लागि १७१ रनको सानदार साझेदारी गरेका हुन्, जुन नेपालको एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो ओपनिङ साझेदारी हो । 

ओपनर कुशल ९९ रनमा बोल्ट आउट भए । ३१ ओभरको पाँचौ बलमा मसाकाट्जाको बलमा उनी बोल्ड आउट भएका हुन् । योसँगै उनी टेष्ट राष्ट्र जिम्बावेविरुद्ध ऐतिहासिक शतकबाट चुके । साथै अर्का ओपनर आशिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले । 

त्यस्तै, कुशल मल्लले ४१ रन जोडे भने कप्तान रोहित कुमार पौडेल ३१ रनमा पवेलियन फर्किए । गुल्सान झाले १३ रन तथा आरिफ शेखले १० रन जोडे । फिनिसिङ फितलो बन्दा नेपालले योगफल बढाउन सकेन । 

बलिङमा जिम्बावेका रिचर्ड नगर्भले ४ विकेट लिए । त्यस्तै, वेलिंग्टन मसाकाद्जाले २ विकेट तथा चताराले एक विकेट लिए । 

पछिल्लो समय उच्च लयमा रहँदै सानदार प्रदर्शन गर्दै आएको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा छ। 

Logo