रोनाल्डोको कीर्तिमानी गोलसँगै पोर्चुगलको लगातार चौँथो जित

रोनाल्डोको कीर्तिमानी गोलसँगै पोर्चुगलको लगातार चौँथो जित

केन्द्रबिन्दु
0
Shares

भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले कीर्तिमानी खेलमा गोल गरेपछि पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा लगातार चौँथो जित दर्ता गरेकाे छ। आइसल्यान्डमा मंगलबार राति भएको खेलको ८९औँ मिनेटमा ३८ वर्षीय रोनाल्डोले गोन्कालो इनासियोको हेडर पासमा उनले वान टचमा सहज फिनिस गरेका थिए।

रोनाल्डोले कीर्तिमानी २००औँ खेलमा कीर्तिमानी १२३औँ गोल गरेपछि पोर्चुगलले १० खेलाडीमा समेटिएको घरेलु टोली आइसल्यान्डमाथि १–० को संघर्षपूर्ण जित दर्ता गरेको हो। बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्र्दै पोर्चुगललाई ३ अंक दिलाए ।

यससँगै रोनाल्डो २०० अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो पुरुष खेलाडी बनेका छन् । यो रोनाल्डोको कीर्तिमानी १२३औं अन्तर्राष्ट्रिय गोल हो। उनी राष्ट्रिय टोलीबाट पुरुषतर्फ सर्वाधिक गोल गर्ने सुचीमा पनि शीर्षस्थानमा छ।

साउदी अरेबियनको अल–नासरका रोनाल्डोले गत मार्चमा कुवेतका फरवार्ड बदर अल–मुतावाको १९६ अन्तर्राष्ट्रिय क्यापको कीर्तिमान तोडेका थिए । रोनाल्डोको यो कीर्तिमानी खेलअघि गिनिज वल्र्ड रेकर्ड्सले रोनाल्डोलाई प्रमाणपत्र प्रदान गरेको थियो।

रोनाल्डो पछिल्लो २० वर्षयता पोर्चुगलको टोलीमा नियमित छन्। रोनाल्डोले सन् २००३ मा पोर्चुगलको लागि डेब्यु गरेका थिए। हाल अल नासरमा रहेका पूर्व स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसका फरवार्डले पाँच पटक बालोन डी’ओर जितेका छन्।यस जितले समूह ‘जे’ मा शीर्षस्थानमा रहेको पोर्चुगलको ४ खेलबाट १२ अंक पुगेको छ। पराजित आइसल्यान्ड ३ अंक जोडेर पाँचौं स्थानमा छ।

Logo