साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

केन्द्रबिन्दु
0
Shares

नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल घरेलु टोली भारतसँग २-० गोलअन्तरले पराजित भएको हो । 

बेंगलोरस्थित कन्तिरभा रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी खेले पनि नेपालले दोस्रो हाफमा भने २ गोल व्यहोर्न पुग्यो । नेपालले पहिलो हाफको अन्त्यमा अन्जन विष्टको साथ गुमाएको थियो । चोटका कारण उनी बाहिरिएसँगै मिडफिल्डर आवास लामिछाने मैदान प्रवेश गरेका थिए ।

दोस्रो हाफमा अट्याकमा कमजोर बनेको नेपालले गोल पनि व्यहोर्न पुग्यो । खेलको ६१औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यस्तै, ७०औं मिनेटमा महेश सिंहले गोल गर्दै भारतलाई २-०को जित दिलाए । पाएको केही मौका सदुपयोग गर्न नसक्दा नेपाल हार व्यहोर्न पुग्यो । 

नेपाल पहिलो खेलमा आमन्त्रित टोली कुवेतसँग ३‍-१ ले पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन भारतको भने यो दोस्रो जित हो । आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई ४-० ले हराएको थियो ।

यसअघि आज भएको समूह एको खेलमा कुवेतले पाकिस्तानलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । । नेपाल, पाकिस्तान, भुटान र बंगलादेशले अंकको खाता खोल्न बाँकी छ ।

Logo