नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौँ स्थानको प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध खराब व्याटिङ गरेको छ ।
हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा युएईले दिएको १८२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २५ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर ९३ रन बनाएको हो । नेपालका प्रमुख ब्याटरहरु सस्तैमा समेटिए । ओपनर कुशल भुर्तेल ३५ रन बनाएर आउट भए । २० ओभरको पाँचौ बलमा उनी खली नासरको बलमा क्याच आउट हुन पुगे ।
त्यस्तै, कप्तान रोहितकुमार पौडेल ४ रन जोडेर आउट हुँदा भीम सार्की र आरिफ शेख समान एकएक रनमा पवेलियन फर्किए ।
त्यसअघि नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर अर्जुृन साउनलाई नेपालले गुमाएको थियो । आशिफ शेखको स्थानमा आएका अर्जुृन एक रनमै मोहम्मद जवदुल्लाहको बलमा आउट हुन पुगे । साथै लामोसमय पछि टोलीमा फर्किएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि सस्तैमा समेटिए । ८औं ओभरको अन्तिम बलमा जुनैद सिद्धिक्वीले उनलाई १३ रनमा पवेलियन फर्काए । विश्वकप लिग २ मा मार्चमा पपुवा न्युगिनीविरुद्ध खेलेपछि उनी पहिलोपटक टोलीमा फर्किएका थिए ।
हाल क्रिजमा दिपेन्द्रसिंह ऐरी र गुल्सान झा रहेका छन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन् । मोहम्मद वासिम नहुँदा उनलाई कप्तानको जिम्मेवारी दिइएको हो ।
त्यस्तै रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्माले २८ रन जोडे । बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए ।
बलिङतर्फ नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २३ रन खर्चिँदै ३ मेडनसहित ३ विकेट लिए । विश्वकप छनोटको समूहचरणमा उनको बलिङ नचल्दा नेपाली टोलीले ठूलो घाटा व्यहोर्नुपरेको थियो । साथै करण केसीले पनि समान ३ विकेट लिए भने दिपेन्द्रसींह ऐरी, गुल्सान झा र प्रतिश जिसीले समान एकएक विकेट लिए ।































प्रतिक्रिया