एनओसीद्वारा खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन

एनओसीद्वारा खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालका हरेक खेलकुद संघले आफ्नै एन्टी डोपिङ नियम बनाउनु पर्ने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार आफू माताहतमा रहेको खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ ।

भिडियो कन्फरेन्सको माध्यमबाट एनओसीले संघका पदाधिकारीसँग एन्टी डोपिङको महत्वबारे छलफल गर्दै आफ्नै नियम बनाउन निर्देशन दिएको हो । एनओसीले संघहरुलाई यहि अगस्ट १५ भित्र संघले एन्टी डोपिङ नियम बनाएर नेपाल एन्टी डोपिङमा बुझाउन निर्देशन दिएको हो ।

एनओसीका मेडिकल कमिसनका अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठले संघका पदाधिकारीलाई सन् २०२१ बाट विश्व एन्टी डोपिङ कोडको धारा १८ अनुसार सबै संघले आफ्नै एन्टी डोपिङ नियम बनाउनु पर्ने नियम लागू गरेको जानकारी गराएका थिए ।

त्यस्तै डा.श्रेष्ठले सन् २०२१ पछि एन्टी डोपिङ नियम नभएको संघले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने नियम रहेको समेत जानकारी गराएका छन् । छलफलमा बोल्दै एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठले यसलाई सकारात्मक र गम्भीर रुपमा लिनुपर्ने बताए । त्यस्तै एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठले संघलाई एन्टी डोपिङ नियम बनाउन एनओसीले सहयोग गर्ने बताए । छलफलमा २७ खेलकुद संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Logo