राखेपका १५ कर्मचारी तथा प्रशिक्षकद्धारा राजीनामा

राखेपका १५ कर्मचारी तथा प्रशिक्षकद्धारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नयाँ खेलकूूद ऐन लागू भएसँगै राष्ट्रिय खेलकूद परिषद् (राखेप) का १५ जना कर्मचारी तथा प्रशिक्षकले राष्ट्रिय खेलकूद संघबाट राजीनामा दिएका छन् । खेलकूद ऐन २०७७ कार्यान्वयनमा आएसँगै मंगलबारसम्म १५ जना कर्मचारी र प्रशिक्षकले विभिन्न राष्ट्रिय संघबाट राजीनामा दिएका हुन् । नयाँ ऐनले परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकहरुलाई खेल संघका कुनै पनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ । नयाँ ऐन गत बिहिबारबाट कार्यान्वयनमा आएसँगै राष्ट्रिय संघमा आवद्ध राखेपका कर्मचारी र प्रशिक्षकले राजीनामा दिने क्रम सुरु भएको हो ।

परिषद्का कर्मचारी तथा प्रशिक्षक राष्ट्रिय संघमा आवद्ध हुदा स्वार्थ बाझिने र त्यसको असर खेलकूद गतिविधि तथा संघहरुमा देखिएको भन्दै खेलकूद ऐनले नयाँ व्यवस्था गरेको हो । ऐन कार्यान्वयनमा आएसँगै देशभरका करिब २ सयभन्दा बढी कर्मचारी तथा प्रशिक्षक यसबाट प्रभावित बन्नेछन् । परिषद्का संघ संस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले टेबल टेनिस संघ, नेपाल तड ईलमादो संघ, नेपाल ईकवेष्ट्रीन संघ, नेपाल हात्ती खेल संघको सदस्य पदबाट राजीनामा दिएका छन् ।
त्यस्तै, खेलकूद विकास विभागका प्रशासकिय अधिकृत चन्द्रकुमार राईले नेपाल गल्फ संघबाट, प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेले नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघ, नेपाल फुटसल संघ, नेपाल जितकुण्डो संघ, जापान गोजुरियो डो मिशन संघ तथा नेपाल जोरशाने खेलकूद संघबाट राजीनामा दिएका छन् ।

खेलकूद विकास विभाग प्रमुख डेमबहादुर बस्नेतले नेपाल सिन्दोकाई कान कराते संघ, नेपाल आर्चरी संघ, नेपाल ट्रायथलन संघबाट राजीनामा बुझाएका छन् । परिषद्का प्रचार प्रसार शाखाका नायव शुब्बा दामोदर अर्यालले नेपाल ट्रायथलन संघ र नेपाल फुटभली संघ, कराँते प्रशिक्षक हरिबहादुर राउतले शारिरीक सुगठन तथा फिटनेश संघ, प्रशासन विभागका प्रशासकिय अधिकृत भोजानन्द राईले नेपाल आईकिडो संघबाट राजीनामा दिएका छन् ।

कास्की जिल्ला खेलकूद विकास समितिका नायव सुब्बा डम्बरबहादुर नेपालीले नेपाल भलिबल संघ, संघ संस्था समन्वय शाखाका नायव सुब्बा टेककुमार राजभण्डारीले नेपाल भलिबल संघ, प्रशिक्षक जगदीश प्रसाद भट्टले नेपाल भलिबल संघ, प्रचार शाखाका नायव सुब्बा बासुदेव निरौलाले नेपाल पौडी संघ, प्रशिक्षक शंकर गौतम र सन्ध्या शाक्यले अखिल नेपाल टेबल टेनिस संघ, राष्ट्रिय टिम तयारीका लेखा अधिकृत विकास बिक्रम शाहले नेपाल कुरास संघ तथा ब्याट्मिन्टन संघका उपमहासचिव लव श्रेष्ठले परिषद्बाट राजीनामा बुझाएका छन् ।

ऐनमा परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षक खेल संघको कुनै पदमा रहेको प्रमाणित भएमा सम्बन्धित संघले वैधता प्राप्त गर्न नसक्ने र त्यस्ता सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यवस्था गरिएको छ ।

Logo