स्वीडेनलाई हराउँदै स्पेन पहिलोपटक विश्वकपको फाइनलमा

स्वीडेनलाई हराउँदै स्पेन पहिलोपटक विश्वकपको फाइनलमा


स्पेन महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । 

न्युजिल्याण्डको अकल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्वीडेनमाथि २-१ को जित निकाल्दै स्पेन पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो । स्पेनको जितमा सलमा सेलेस्टे पारल्युलो आयिंगोनो र ओल्गा कार्मोनाले समान एकएक गोल गरे भने स्वीडेनको लागि रेबेका ब्लोमक्विस्टले गरेको गोल सान्तवनामै सिमित बन्यो । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ८१औं मिनेटमा पारल्युलो आयिंगोनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाइन् । तर, जितको मुखमै पुग्न लाग्दा स्वीडेनकी रेबेकाले गोल गर्दै खेल बराबरीमा ल्याइन् । उनले ८८औं मिनेटमा गोल गरेकी थिइन् । 

त्यसको एक मिनेटमै कार्मोनाले गोल गर्दै स्पेनलाई २-१को रोमाञ्चक जित दिलाइन् । 

स्पेन अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक फाइनल पुगेको हो ।  यसअघि एकमात्र सेमिफाइनलको रुपमा सन् १९९७ को युरोपेली च्याम्पियनसिपमा स्पेनले इटालीसँग २-१ को हार बेहोरेको थियो । तर, पटकपटक सेमिफाइनलको यात्रा गरिसकेको स्वीडेन भने बाहिरिएको छ । 

अब स्पेनले विश्वकपको उपाधिका लागि इंग्ल्याण्ड र आयोजक अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । 

Logo