टी-ट्वान्टी आईमा युएईमाथि न्युजिल्यान्डको जित

टी-ट्वान्टी आईमा युएईमाथि न्युजिल्यान्डको जित


पाहुना टोली न्युजिल्यान्डले घरेलु टोली युएईलाई पहिलो टी-ट्वान्टी आईमा पराजित गरेको छ। बिहीबार राती दुबईमा भएको खेलमा पाहुना टोली न्युजिल्यान्ड १९ रनले विजयी भएको हो। योसँगै तीन खेलको टी-ट्वान्टी आई सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ।

न्युजिल्यान्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको युएई १९ दशमलब ३ ओभरमा १ सय ३६ रनमा अल आउट भयो। युएईको लागि अर्यांश शर्माले ४३ बलमा ९ चौका र १ छक्कासहित ६० रनको अर्धशतकीय ईनिङ खेले पनि जिताउन सकेनन्।

अली नासिरले १६ तथा वृत्य अरविन्द र आसिफ खान १३/१३ रनमा आउट भए। अंश टन्डन १२ रनमा आउट भए। न्युजिल्यान्डका लागि कप्तान टिम साउथीले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए। मिचेल सान्टनर र जेम्श निसमले समान २/२ तथा कायल जेमिसनले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो। न्युजिल्यान्डको जितमा ओपनर टिम सिफर्टले ३४ बलमा २ चौका र ३ छक्कासहित ५५ रनको अर्धशतकीय ईनिङ खेले। 

मार्क च्यापम्यान १८ बलमा १५ र जेम्श निशम २२ बलमा २ चौकासहित २५ रनमा क्याच आउट भए। युएईका लागि जुनैद सिद्दिक र बासिल हामिदले समान २/२ विकेट तथा जहुर खान र मोहम्मद फराजुदीनले समान १/१ विकेट लिए।  दुईबीचको दोस्रो खेल शनिबार हुनेछ।

Logo