नेपालको उत्कृष्ट सुरुवातका बीच वर्षा बाधक, राेकियाे खेल

नेपालको उत्कृष्ट सुरुवातका बीच वर्षा बाधक, राेकियाे खेल

केन्द्रबिन्दु
0
Shares

नेपाल र हङकङ चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा भिड्दै छन् । हङकङले नेपालसामु जितका लागि १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

तर, नेपालको उत्कृष्ट सुरुवातका बीच वर्षा बाधक बनेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा १०२ रनको लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा एक विकेटको क्षतिमा ३७ रन बनाएको छ । हाल ओपनर सिता रानामगर १३ रन र इन्दु बर्मा १९ रनसहित क्रिजमा रहेका छन् । ओपनर काजल श्रेष्ठ भने पहिलो बलमै डकआउट भइन् । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक  रन बनायो । हङकङका लागि याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् । 

बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक/एक विकेट लिइन् । 

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो । यस्तै हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् ।  

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–ट्वान्टी सिरिजमा सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो । 

Logo