नेपालले चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा हङकङलाई डकवर्थ लुईस पद्दतीअनुसार १३ रनले पराजित गर्दै नेपाल च्याम्पियन भएको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५.३ ओभरमा एक विकेटको क्षतिमा ३७ रन बनाउँदा खेल रोकिएको थियो । त्यसपछि खेल सुरु हुन नसक्दा डकवर्थ लुईस पद्दतीमा नेपाल विजयी भएको हो ।
वर्षा सुरु हुनुअघि उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनर सिता रानामगर १३ रन र इन्दु बर्मा १९ रनमा अविजित रहेका थिए । ओपनर काजल श्रेष्ठ भने पहिलो बलमै गोल्डेन डकआउट भइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनायो । हङकङका लागि याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् ।
बलिङतर्फ नेपालका लागि खुशी डङ्गोलले तीन तथा अश्मिना कर्माचार्य र कविता जोशीले एक/एक विकेट लिइन् ।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो । यस्तै, हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका थिए ।
आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–ट्वान्टी सिरिजमा सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।





























प्रतिक्रिया