बहराइनलाई १० विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक

बहराइनलाई १० विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक


नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा बहराइनमाथि नेपालले १० विकेटको सानदार जित निकाल्दै सेमिफाइनल यात्राको सम्भावना बलियो बनाएको छ । 

मलेसियाको क्वालालाम्पुरमा बहराइनले जितका लागि दिएको ३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा विना विकेटको क्षतिमा पूरा गरेको हो ।नेपालका लागि ओपनर कविता कुँवरले ३ चौकाको मदतमा १७ रन जोडिन् भने अर्का ओपनर सिता रानामगरले २ रन जोड्दा १३ रन नेपालले उपहारस्वरुप पाएको थियो । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा अलआउट हुँदै ३१ रनमै समेटिएको थियाे । बहराइनका लागि कप्तान दीपिका रसंगिकाले सर्वाधिक ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । इर्षा सुहुन र आशा सामिल्दीनले समान ५५ रन जोडे भने ओपनर थरंगा ४ रनमा आउट भइन् । नेपालको सानदार बलिङ चल्दा ६ खेलाडी शून्य रनमै सिमित भए । 

बलिङमा नेपालकी इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् । त्यस्तै, खुशी डंगोलले २ विकेट तथा कविता कुँवर, पुजा महतो र रुविना क्षेत्री बेलबासेले एक एक विकेट लिएकी छिन् ।

पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो। समूह एमा रहेको नेपालले अब आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । 

Logo