भारत र पाकिस्तानबीचको खेल रद्ध

भारत र पाकिस्तानबीचको खेल रद्ध

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ।

श्रीलङ्काको क्यान्डीमा खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अङ्क बाँडेका छन्। यो नतिजासँगै पाकिस्तान समूह ‘ए’ मा ३ अङ्ककासाथ सुपर फोरमा पुगेको छ। पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनको फराकिलो अन्तरले हराएको थियो।

हिजो टस जितेर पहिला ब्याटिङ गरेको भारत ४८ ओभर ५ बलमा २ सय ६६ रनमा अलआउट भएको थियो। भारतका लागि इशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय इनिङ खेले। पान्ड्याले ८७ र किशनले ८२ रन बनाए। पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रौफ र नसिम शाहले समान ३/३ विकेट लिए।

जितका लागि २ सय ६७ रनको लक्ष्य पाएको पाकिस्तानले पानी परेपछि पारी शुरु गर्न पाएन। भोलि क्यान्डीमा नेपाल र भारतबीच खेल हुनेछ। यो खेलको विजेता टोली नै सुपर फोरमा पुग्नेछ। तर वर्षाको कारण अङ्क बाँड्नुपर्ने भएमा भारत सुपर फोरमा जानेछ।

एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन्। आज समूह ‘बी’ का अफगानिस्तान र बङ्लादेशबीच लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे खेल हुनेछ। यो समूहमा बङ्लादेश पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो। 

Logo