आइसिसी महिला टि-ट्वान्टी विश्वकपः भुटानमाथि नेपालको कठिन जित

आइसिसी महिला टि-ट्वान्टी विश्वकपः भुटानमाथि नेपालको कठिन जित

केन्द्रबिन्दु
0
Shares

आइसिसी महिला टि-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानमाथि संघर्षपूर्ण जित हात पारेको छ। भुटानलाई तीन विकेटले हराउँदै नेपाल समूह ए को शीर्षस्थानमा उक्लिएको हाे।

लगातार तेस्रो जितका साथ आजकाे खेलमा ४० रनको सामान्य लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेकाे छ। नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे २३ बलमा १ चौकासहित १२ रनमा अविजित रहिन्।

झिनो लक्ष्य पछ्याएको नेपाल एक समय ५.५ ओभरमा १६-५ को दयनीय अवस्थामा पुगेको थियो। कविता जोशी २० बलमा १ चौकासहित ९ रनमा आउट भइन्।

कविता कुँवर,अश्मिना कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का शून्यमा आउट भए। सीता रानामगर ११ बलमा १ चौकासहित ८ रनमा आउट भइन्। पुजा महतो १० बलमा ३ रनमा आउट भइन्।

भुटानकी अन्जुली घलेले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन्। अन्जु गुरुङले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर १ विकेट लिइन्। क्षिरिङ जांग्मोले २ ओभरमा ४ रन खर्चेर २ विकेट लिइन्।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो। भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन्।

नेपालविरुद्ध खेलमा भुटानले एकमात्रै चौका हानेको थियो। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपाल ३ खेलमा शीर्षस्थानमा छ। नेपालले अव मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी(ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

Logo