मैत्रीपूर्ण खेलमा जर्मनीले जापानसँग हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा जर्मनी ४-१ गोल अन्तरले पराजित बनेको हो।
पछिल्लो नतिजाले प्रशिक्षक हान्सी फ्लिकमाथि बर्खास्तीको दबाब थपिएको छ। जुन्या इटोले गोल गर्दै सुरुआतमा जापानलाई ११ औं मिनेटमा अग्रता दिलाएका थिए। बायर्न म्युनिखका फरवार्ड लिरो सानेले घरेलु टोली जर्मनीलाई बराबरीमा ल्याएका थिए।
अयासे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २-१ ले अघि बढाएका थिए। त्यसपछि दोस्रो हाफमा तकुमा असानो र आओ तनाकाले गोल गर्दै जापानलाई फराकिलो जित दिलाए।
जर्मनीले पछिल्लो ५ खेलमा चौथों पराजय भोगेको छ। सन् २०२० को नेसन्स लिगमा स्पेनसँग ६-० ले पराजित बनेपछि जर्मनीले सबैभन्दा ठुलो हार ब्यहोरेको हो।
सन् २०२१ मा गोचिम लोको स्थानमा आएका बायर्न म्युनिखका पूर्व प्रशिक्षक फ्लिकले जर्मनीका लागि पछिल्ला २५ खेलमा १२ खेलमा जित हासिल गरेका छन्। जर्मनीले सन् २०२२ को विश्वकपमा समेत जापानसँग २–१ ले पराजित बनेको थियो।





























प्रतिक्रिया