यूईएफए यूरो २०२४ छनोट अन्तर्गत गएराति भएको समूह ए को खेलमा स्पेन र नर्वेले जित हासिल गरेका छन्।
स्पेनले साइप्रसलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो। स्पेनको जितमा बार्सिलोनाका फेरान टोरसले दुई गोल गरे भने गाभी, मिकेल मेरिनो, जोसेलु र एलेक्स बाएनाले समान एक-एक गोल गरे।
यस्तै सोही समूह अन्तर्गतको अर्को खेलमा नर्वेले जर्जियालाई २-१ गोल अन्तरले पराजित गरेको हो। नर्वेको जितमा एर्लिङ हालाण्ड र मार्टिन ओडेगार्डले एक-एक गोल गरे। जर्जियाका लागि इन्ज्युरी समयमा बुदु जिव्जिवाद्जेले सान्त्वना गोल गरे।
समूहमा स्कटल्याण्ड पाँच खेलमा १५ अंकसहित शीर्ष स्थानमा छ भने स्पेन चार खेलमा ९ अंक सहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको नर्वेको पाँच खेलमा ७ अंक छ।
स्कटल्यान्ड र नर्वे दुवैले अब ३-३ खेल खेल्न बाँकी रहेको अवस्थामा नर्वेले कुनै खेल गुमाए प्लेअफको युरो छनोट गुमाउने सम्भावना रहनेछ। प्लेअफमा पनि नर्वेको सम्भावना निकै कमजोर छ।





























प्रतिक्रिया