फिफा बेष्टको मनोनयन सार्वजनिक, विश्व च्याम्पियन मार्टिनेज लिष्टमै अटाएनन्

फिफा बेष्टको मनोनयन सार्वजनिक, विश्व च्याम्पियन मार्टिनेज लिष्टमै अटाएनन्

केन्द्रबिन्दु
0
Shares

फुटबलको सर्वोच्च संस्था फिफाले प्रदान गर्ने ‘फिफा बेस्ट’अवार्डका लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ । फिफाले गएराति सार्वजनिक गरेको मनोनयन अनुसार ट्रेबल विजेता म्यानचेष्टर सिटीबाट ६ खेलाडी समावेश छन् भने विश्व विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसी पनि अवार्डको दाबेदारको रुपमा उभिएका छन् । 

क्रिस्टियानो रोनाल्डो भने यो वर्षको मनोनयनमा छनौट नै भएनन् ।

अर्जेन्टिनाबाट मेसीसहित जुलियन अल्भारेज, फ्रान्सबाट केलियन एमबापे, पोर्चुगलबाट बर्नान्डो सिल्भा, नाइजेरियबाट भिक्टोर ओसिमेन, क्रोएसियाबाट मार्सेलो ब्रोजोभिच, जर्मनीबाट इल्के गुन्डोवान, स्पेनबाट रोड्रीलगायत खेलाडी परेका छन् ।

पुरुषतर्फ १२ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । जसमा मेसीसहित पिएसजीका केलिएन एमबापे र सिटीका एर्लिङ हालान्ड मुख्य दाबेदार छन् ।

यसबाहेक सिटीका युलियन अल्भारेज, रोड्री, बर्नार्डो शिल्भा, केभिन डि ब्रुएन छन् । गत सिजन सिटीमा ट्रेबल जितेर यस सिजन बार्सिलोना पुगेका ईल्के गुन्डोगान पनि मनोनयनमा छनौट भएका छन् ।

यस्तै आर्सनलका डेक्लान राई, नापोलीका भिक्टोर ओसिमहेन र केभिचा केभारात्खेलिया तथा अल नासेरका मार्सेलो ब्रोजोभिच छन् ।

यसैगरी महिलातर्फ विश्वकप विजेता स्पेनका कप्तान आईतना बोनमाटीसहित १६ खेलाडी मनोनयनमा छन् ।

उत्कृष्ट पुरुष प्रशिक्षकतर्फ सिटीकै पेप ग्वार्डिओला, ईन्टर मिलानका सिमोन ईन्जाघी, टोटनहमका एन्ज पोस्टेग्लु, ईटलीका लुसियानो स्पालेट्टी र बार्सिलोनाका जाभी परेका छन्, भने अर्जेन्टिनालाई ३६ वर्षपछि विश्व विजेता बनाउन सबैभन्दा मुख्य भुमिका निभाएका प्रशिक्षक लियोनल स्कालोनी भने लिष्टमै अटाएनन् । यस्तै महिलातर्फ उत्कृष्ट प्रशिक्षकमा पीटर गेर्हार्डसन, जोनाथन गिराल्डेज, टोनी गुस्ताभसन, एमा हायस, र सरिना विगम्यान लिष्टमा छानिएका छन् । 

फिफाको उत्कृष्ट गोलकिपरमा मोरक्कोलाई पहिलोपटक विश्वकपकाे सेमिफाइनल पुर्याउन मुख्य भुमिका निभाएका गोलकिपर यासिन बोने, बेल्जियन‍ गोलकिपर थिबाउट कोर्टुवा, ब्राजिलियन गोलकिपर एन्डरसन, क्यामरुनका गोलकिपर एन्ड्रयू ओनाना र जर्मन गोलकिपर मार्क एन्ड्रे टेर स्टेगेन मनोनयमा परेका छन् ।

तर, अर्जेन्टिनालाई विश्वविजेता बनाउन सबैभन्दा महत्वपूर्ण भुमिका निभाएका अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज फिफा बेष्टको मनोनयनमा अटाएका छैनन् । मार्टिनेजले नै फ्रान्सका खेलाडीलाई पेनाल्टीमा विट गर्दै अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका थिए ।

Logo