१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री प्रचण्ड सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री प्रचण्ड सहभागी

केन्द्रबिन्दु
0
Shares

१९औँ एसियाली खेलकुद २०२२ को चीनको हाङजाउमा भव्य उद्घाटन भएको छ। हाङ्जाउ ओलिम्पिक रङ्गशालामा एक भव्य समारोहबीच चीनका राष्ट्रपति सि चीनफिङले प्रतियोगिताको उद्घाटन गरेका हुन्। 

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए। साथै परराष्ट्र मन्त्री एनपी साउद, यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायत उद्घाटन समारोहमा  सहभागी भए। 

उद्घाटन समारोह करिब दुई घण्टासम्म चलेको थियो। उद्घाटनमा मार्च पासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दो खेलाडी वीरबहादुर महराले बोके। दुवै खेलाडीले सन् २०१९ मा नेपालमा भएको १३औँ साग खेलकुद प्रतियागितामा स्वर्ण पदक जितेका थिए। यो प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ५३ खेलाडी सहभागी हुँदै छन्, जसमा महिला १२७ र पुरुष १२६छन्। 

उद्घाटनमा ४५ देशका खेलाडी मार्च पासमा सहभागी भएका थिए। सो अवसरमा चीनका विभिन्न साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। एसियाली खेलकुदको इतिहासमा पहिलो पटक डिजिटल र भौतिक दुवै रुपमा टर्च प्रज्जलित गरिएको थियो। 

प्रतियोगिता विभिन्न ४५ देशका १२ हजार चारसयभन्दा बढी खेलाडी ४० खेलमा  सहभागी हुँदै छन्। नेपालले सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा सम्पन्न १८औँ एसियाली खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङमा रजत पदक प्राप्त गरेको थियो। प्रतियोगिताको उद्घाटन  भए पनि फुटबल, क्रिकेट, भलिबल र टेबुलटेनिसका खेल यसअघि नै सुरु भइसकेको छ।

सन् २०२२ मा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारणले यो वर्ष आयोजना हुन लागेको हो। प्रतियोगितामा यस वर्षको नारा ‘हर्ट टु हर्ट’ अर्थात् ‘मुटुदेखि मुटुसम्म’ रहेको छ। चीनले तेस्रो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो।

यसअघि सन् १०९० र २०१० मा पनि चीनले प्रतियोगिता आयोजन गरेको थियो। एसियाली खेलकुदको सुरुवात सन् १९९१ मा भारतको नयाँ दिल्लीबाट भएको थियो। 

नेपालबाट यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुदमा २०३ खेलाडी सहभागी भएका थिए भने सन् २०१८ को इन्डोनिसियाको जकार्तामा सम्पन्न प्रतियोगितामा १८५ खेलाडी सहभागी थिए।

नेपालले हालसम्म एसियाली खेलकुद प्रतियोगिताबाट तेक्वान्दो, बक्सिङ, कराँते र प्याराग्लाइडिङ खेलबाट दुई रजत र २२ कास्य पदक प्राप्त गरेको छ। 

Skip This
Skip This
Logo