मंगोलियाविरुद्ध विश्व कीर्तिमानी प्रदर्शन गरेका नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज सम्पन्न मंगोलियाविरुद्धको खेलमा २ विश्व कीर्तिमानी बनाएका दीपेन्द्रलाई उनी सम्मिलित क्लब लुम्बिनी अल स्टारले एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । टोलीका अन्य खेलाडीले समान १० हजार पाउनेछन् ।
दीपेन्द्रले सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा नाम लेखाएका छन् । उनले ९ बल खेल्दै ५० रन बनाएका थिए । ऐरीले पहिलो छ बलमा छ छक्का प्रहार गरेर अर्को कीर्तिमान बराबरी गरेका छन् । यसअघि युवराज सिंह, क्रिस गेल र हज्रातुल्ला जाजाइले १२ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान कायम गरेका थिए ।
साथै उनले स्ट्राइक रेटमा पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले १० बलमा ५२ रन प्रहार गर्दै ५२० को स्ट्राइक रेट बनाएका छन् । दश बलभन्दा बढी खेल्ने कुनै पनि खेलाडीले हालसम्म ५०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छैनन् । यसअघि सन् २०१६ मा जिम्बाबेको घरेलु टी२० प्रतियोगितामा माल्क्लोम वालरले ४३० को स्ट्राइक रेटमा रन बनाएका थिए ।































प्रतिक्रिया