वीरजंङ्ग स्मृति पुरुष राष्ट्रिय भलिबलको तयारी पूरा, नौ टिम सहभागी हुने

वीरजंङ्ग स्मृति पुरुष राष्ट्रिय भलिबलको तयारी पूरा, नौ टिम सहभागी हुने


वीरजङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल गणतान्त्रिक खेलकुद महासंघले प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको हो ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष जयनन्द चन्दले तयारी पूरा भइसकेको उल्लेख गर्दै प्रतियोगितामा नौ वटा टिमले सहभागिता जनाउने टुंगो लागेको बताए । प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा हुने छ ।

महासंघका उपाध्यक्ष अनिलकुमार पुन मगरले राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगित हुन लागेको बताए ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश र किङ्गस क्लब, धौलागिरी रेष्टुरेन्ट सान्धा जापान क्लब, गलकोट स्पोर्ट क्लब, न्युटन चिल्ड्रेन एकेडेमी, त्रिभुवन विश्वविद्यालय आरआर क्याम्पस र आयोजक टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उपाधि विजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउने छ भने दोस्रो हुनेले दुई लाख ५० हजार प्राप्त गर्ने जनाइएको छ । यसैगरी तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको महासंघले जनाएको छ । 

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाईकर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच–पाँच हजार पुरस्कारको व्यवस्था गरिने भएको छ ।

सहभागी टिम तथा खेलाडीले खाने, बस्ने व्यवस्था आफैं गर्नपर्ने महासंघले जनाएको छ । टिम दर्ता शुल्क निःशुल्क छ । खेल लिगकम नकाउटको आधारमा भलिबल संघ र राष्ट्रिय रेफ्रिहरुको नियम बमोजिम खेलाइने महासंघले जनाएको छ । एक टिमले तीन जनासम्म विदेशी खेलाडी पनि राख्न पाउने महासंघले जनाएको छ ।

Logo