एमसीसी इण्डोप्यासीफिक रणनीतिको अंग हो–नेमकिपा सांसद प्रेम सुवाल –(भिडियोसहित)

एमसीसी इण्डोप्यासीफिक रणनीतिको अंग हो–नेमकिपा सांसद प्रेम सुवाल –(भिडियोसहित)


काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इण्डोप्यासीफिक रणनीतिको अंग भएको बताएका छन् । सांसद सुवालले बिहिबार केन्द्रबिन्दुसँग विशेष अन्तवार्ता दिँदै एमसीसी इण्डोप्यासीफिक रणनीतिको अंग भएको बताएका हुन् । सांसद सुवालका अनुसार अमेरिकी रक्षा विभागको भिजन प्रकाशित गरिएको छ । सो भिजनको पेज नं ४ मा अमेरिकी विदेश सचिवको सन्देश उल्लेख गरिएको छ । उक्त सन्देशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ उल्लेख गर्दै हिन्द प्रशान्त रणनीति भनेको हिन्द प्रशान्त क्षेत्रका देशहरुको सैन्य गठबन्धन हो भन्ने स्पष्ट लेखिएको उनको दाबी छ । कुनै पनि राष्ट्रवादी पार्टीले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता स्वीकार गर्न नसक्ने बताए । साथै, अमेरिकी राजदूतावास मार्फत एमसीसी सम्झौता राष्ट्रियहित विपरित भएकाले तत्काल खारेज गर्न अमेरिकी सरकारलाई नेमकिपाले पत्र लेख्दै आग्रह गरेको सांसद सुवालले बताए ।

त्यस्तै उनले नेपाली पुरुषसँग विवाह गरेर आउने महिलालाई १५ सम्म स्थायी बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताए । वैवाहिक अंगीकृत नागरिकता दिने समयसीमा राख्दा नागरिकता लिने व्यक्तिले नेपालको कुनै पनि एक भाषा राम्रोसँग बोल्न सक्ने भएकाले सो समयमा दिनु उपयुक्त हुने उनको भनाइ छ । नेपाल जस्तो दुईतिर ठूलो जनसंख्या रहेका मुलुकमा वैवाहिक अंगीकृत नागरिकतामा कुनै समयसीमा नराख्दा दीर्घकालका लागि घातक हुने उनको दाबी छ ।

त्यस्तैगरी सांसद सुवालले अहिलेको नेकपाको सरकारलाई इतिहासकै बलियो सरकार भन्न नसकिने बताएका छन् । बलियो सरकारले जनता र राष्ट्रहितमा काम गर्ने भन्दै अहिलेको सरकारले ती कुनै पनि काम गर्न नसकेको उनको आरोप छ । दिनप्रतिदिन भ्रष्टाचार बढ्दै जानु, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमो प्रभावकारी काम गर्न नसक्नु, विश्वभर सबैभन्दा सस्तो म्यानपावर पठाउने, गोर्खा सैनिकमा पठाएर आफ्नै देश विरुद्ध लड्न पठाउने, विपदको बेला उचित राहत प्याकेजको व्यवस्था गर्न नसकने सरकारको अंकगणितलाई मात्र हेरेर इतिहासकै बलियो सरकार भन्न नसकिने सांसद सुवालले बताए ।

नागरिकता सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक भित्रको फरक मत, एमसीसी सम्झौता कार्यान्वयन गर्न मिल्छ कि मिल्दैन, लामो समयदेखि भारतीय पक्षको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग फिर्ता ल्याउन कति सहज छ र इतिहासकै बलियो भनिएको नेकपाको सरकार कति सफल हुँदै गएको छ भन्ने विषयमा केन्द्रीत रहेर केन्द्रबिन्दुका सरोज बस्यालले नेमकिपा सांसद प्रेम सुवालसँग कुराकानी गरेका छन् । हेरौँ कुराकानीको पूरा अंशः

 

Logo