विश्वकप फुटबलको एसिया छनोटमा आज नेपाल र लाओस खेल्दै

विश्वकप फुटबलको एसिया छनोटमा आज नेपाल र लाओस खेल्दै


विश्वकप फुटबलको एसिया छनोटमा नेपालले आज दोस्रो लेगको खेलमा लाओसविरुद्ध खेल्दैछ। वियनतियानेस्थित लाओसको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए। बौनफाचन बोनकोन्गले खेलको ३३ औँ मिनेटमा गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको तेस्रो मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काएका थिए।

दोस्रो लेगमा जित निकाल्ने टिमले समूह एचमा रहेका बहराइन र युएई तथा यमन र श्रीलंकाबीचको बिजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ।

पहिलो लेगमा उत्कृष्ट प्रदर्शन गरेको लाओसले दोस्रो लेगमा घरेलु मैदानमा पाहुना टोली नेपाललाई दबाबमा राख्न खोज्नेछ। पहिलो खेलमा गोल गरेका कप्तान समेत रहेका फरवार्ड बोनकोन्गले लाओसको टिमको नेतृत्व गर्नेछन्।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन्। अहिलेसम्म लाओससँग नहारेको नेपालले पुरानै विरासतलाई कायम राख्दै दोस्रो चरण पुग्ने लक्ष्य राखेको छ।

Logo