सानदार जितसँगै भारतलाई पछि पार्दै न्युजिल्याण्ड शीर्षस्थानमा

सानदार जितसँगै भारतलाई पछि पार्दै न्युजिल्याण्ड शीर्षस्थानमा


न्युजिल्याण्डले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानमाथि १ सय ४९ रनको सानदार जित हात पारेको छ। लगातार चौथो जितका साथ न्युजिल्याण्ड ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्याण्डले सेमिफाइनल सम्भावना मजबुत बनाएको छ।

जितको लागि २ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा १ सय ३९ रनमा अल आउट भयो। अफगानिस्तानका रहमात शाहले ६२ बलमा १ चौकासहित सर्वाधिक ३६ रन बनाए। आजमतुल्लाह ओमरजाई २७, रहमानउल्लाह गुरबाज ११, इब्राहिम जद्रान १४, मोहम्मद नाबी ७, राशिद खान ८ र मुजिब उर रहमान ४ रनमा आउट भए।

न्युजिल्याण्डका स्पिनर मिचेल सान्टनारले ७.४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए। तीव्र गतिका बलर लोकी फर्गुसनले ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए। ट्रेन्ट बोल्टले ७ ओभरमा १ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए। म्याट हेनरीले १ विकेट लिए।

त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८८ रन बनाएको थियो। न्युजिल्याण्डको जितमा ग्लेन फिलिप्सले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए। कार्यवाहक कप्तान तथा विकेटकिपर टम लाथमले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रनको कप्तानी इनिङ खेलेका थिए।

एक समय ११०(४ को अवस्थामा पुगेको न्युजिल्याण्डलाई खेलमा फर्काउन लाथम र फिलिप्सले पाँचौं विकेटका लागि १ सय ४४ रनको सानदार शतकीय साझेदारी गरेका थिए। त्यो साझेदारी जितको आधार बनेको थियो।

ओपनर डेभन कन्वे मुजिब उर रहमानको बलमा २० रनमा एलबीडब्लू आउट भए। तर दोस्रो विकेटका लागि विल योंग र रचिन रविन्द्रले ७९ रनको साझेदारी विशाल योगफलको सम्भावना देखाएका थिए।

रविन्द्र ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा आउट भए। उनी आजमतुल्लाह ओमरजाईको बलमा बोल्ड भएका थिए। त्यसै ओभरमा विल योंग पनि क्याच आउट भएका थिए।

विल योंग ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए। राशिद खानले डर्याल मिचेललाई १ रनमा क्याच गराएपछि न्युजिल्यान्ड १०९-१ को अवस्थाबाट ११०-४ को दयनीय अवस्थामा पुगेको थियो।

तर त्यसपछि लाथम र फिलिप्सको शतकीय साझेदारीमा न्युजिल्याण्ड खेलमा फर्किएको थियो। मार्क च्यापम्यान १२ बलमा २ चौका र १ छक्कासहित २५ र मिचेल सान्टनार ७ रनमा नट आउट रहेका थिए।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले ७ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए। नविन उल हकले ८ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । राशिद खानले १० ओभरमा ४३ रन खर्चेर १ विकेट लिए। मुजिब उर रहमानले १० ओभरमा ५७ रन खर्चेर १ विकेट लिए।

न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेट, नेदरल्यान्ड्सलाई ९९ र बंगलादेशलाई ८ विकेटले हराएको थियो। न्युजिल्याण्ड अब आइतबार भारतसँग खेल्नेछ।

 

Logo