चाडबाडका बेलामा बैतडी क्रिकेटमय

चाडबाडका बेलामा बैतडी क्रिकेटमय


नेपालीको मुख्य चाड दसैँ र तिहारको अवसरमा  बैतडी जिल्ला क्रिकेटमय बनेको छ। दसैँ र तिहारको अवसर पारेर यहाँ चारवटा क्रिकेट प्रतियोगिता आयोजना गरिँदैछ।

आजदेखि दोस्रो संस्करणको  वाशुलिङ प्रिमियर लिग (बिपीएल ) सुरु भएको छ भने यही कात्तिक १० गतेदेखि  पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करण, १५ गतेदेखि दशरथचन्द नगरपालिकामा नगरस्तरीय क्रिकेट र आगामी मङ्सिरमा बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिने भएकोे छ।

बाशुलिङ क्रिकेट क्लबको आयोजनामा हुने (बिपीएल ) सिजन टु का खेल सिद्धखाली खेलमैदान सतबाँझमा भइरहेका छन्। प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको उक्त क्लव का प्रतिनिधि नवराज ऐरीले जानकारी दिए। प्रथम हुने टोलीलाई रु ३५ हजार र दोस्रो हुने टोलीललाई रु १८ हजार पुरस्कारसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ।

यसैगरी साथै पाटन क्रिकेट क्लबको आयोजनामा हुने पिपिएल–३ का खेलहरू श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन हुनेछन्। सो प्रतियोगिताका लागि १८ टोली सहभागी हुने भएका छन्। 

विजेता टोलीले रु एक लाख ११ हजार एक सय ११ र दोस्रो हुनेले रु ५५ हजार पाँच सय ५५ पाउने क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए। यस्तै दशरथचन्द नगरपालिकास्तरीय क्रिकेट प्रतियोगिता यही कात्तिक १५ गतेदेखि सुरु हुने भएको छ।

नगर खेलकुँद विकास समितिले जारी गरेको सूचनामा कात्तिक २३ गतेसम्म नगरस्तरीय पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुने जनाएको छ। बुड्डाबाजे खेलमैदान रातामाटा हुने सो प्रतियोगितामा सहभागी हुने टोलीलाई सहभागिताका लागि प्रत्येक वडा कार्यालयलाई आग्रह गरिएको छ। वडागत टोलीको व्यवस्थापन वडा कार्यालयले गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दले बताए।

दशरथचन्द नगरपालिकाको पूर्वनिर्धारित खेलकुद कार्यक्रमअनुसार क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भएको हो। जिल्ला क्रिकेट सङ्घले मङ्सिर १६ गतेदेखि बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजना गरेको छ।

सो सङ्घले जिल्लामा रहेका १३ ओटा क्रियाशील क्रिकेट क्लबलाई समेट्दै बिडिसिए कप क्रिकेट प्रतियोगिता आयोजनाको गर्न लागेको सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए। 

जिल्लाको सहिद दशरथचन्द खेलमैदान सुन्दरखाली र पाटन खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ। प्रतियोगितामा भाग लिने टोलीलाई कात्तिक मसान्तभित्र सहभागिताका लागि आग्रह गरिएको छ। 

सहिद दशरथचन्द खेलमैदानमा नागार्जुन क्रिकेट क्लब, कालशैनी क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब, ग्वाल्लेक क्रिकेट क्लब, प्रतिष्ठान, एनआरवाइसी बठ्ठा र पञ्चकोटी क्रिकेट क्लबहरुबीच खेल हुने छ।

त्यसैगरी पाटन खेलमैदानमा निङ्लासैनी क्रिकेट क्लब, नवजागृति क्रिकेट क्लब, महामाया क्रिकेट क्लब, यौंगस्टार क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब र पाटन क्रिकेट क्लबबीच खेल हुने आयोजकले जनाएको छ। 

प्रतियोगितासम्बन्धी कार्यविधि र सहभागिता शुल्कका विषयमा अर्को सूचनामार्फत जानकारी गराइने आयोजक सङ्घले जनाएको छ, यस्ता प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने  सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहराले बताए। नियमितरूपमा हुने प्रतियोगिताले खेलाडी क्षमता अभिवृद्धि र क्रिकेटको विकासमा टेवा पुग्ने उनको भनाइ थियो।

Logo