विराट कोहलीको सानदार शतकमा भारतको लगातार चौथो जित

विराट कोहलीको सानदार शतकमा भारतको लगातार चौथो जित


विराट कोहलीको सानदार शतकमा उपाधिको दाबेदार घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा लगातार चौथो जित हात पारेको छ । बंगलादेशलाई ७ विकेटले हराउँदै भारतले सेमिफाइनल सम्भावना मजबुत बनाएको छ ।

जितको लागि २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४१.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विराट कोहली ९७ बलमा ६ चौका र ४ छक्कासहित १ सय ३ रनमा नट आउट रहे। टिमको लागि जित निकाल्न दुई रन आवश्यक पर्दा कोहलीले नासुम अहमदलाई छक्का हान्दै खेल सकाउनुको साथै शतक पूरा गरेका थिए।

भारतलाई जितको लागि २० रन चाहिँदा कोहलीलाई पनि शतक बनाउन त्यतिनै चाहिँएको थियो। त्यसपछि कोहलीले शतकमा ध्यान दिएका थिए। कोहलीको यो ओडिआई करिअरको ४८ औँ शतक हाे।

ओडिआईमा सर्वाधिक धेरै शतक सचिन तेन्दुलकुरले ४९ औँ शतक प्रहार गरेका छन्। उक्त कीर्तिमान तोड्न अव दुई शतक मात्रै बाँकी छ। लोकेश राहुल ३४ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे।

भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले १२.४ ओभरमा ८८ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । रोहित शर्मा ४० बलमा ७ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । गिल ५५ बलमा ५ चौका र २ छक्कासहित ५३ रनमा आउट भए ।

बंगलादेशका मेहेदी हसन मिराजले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए। हसन मोहम्मदले एक विकेट लिए। त्यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५६ रन बनाएको थियो। बंगलादेशका ओपनर लिटन दासले ८२ बलमा ७ चौकासहित सर्वाधिक ६६ रन बनाए।

अर्का ओपनर तानजिद हसन ४३ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा आउट भए। बंगलादेशलाई ओपनर हसन र दासले १४.४ ओभरमा ९३ रन जोड्दै सानदार सुरुवात दिलाएका थिए। तर त्यो सुरुवातलाई निरन्तरता दिन नसक्दा विशाल योगफल बनाउन चुकेको थियो।

कुलदीप यादवले हसनलाई एलबीडब्लू आउट गरे। त्यसपछि बंगलादेशका ब्याटरले साझेदारी गर्न नसक्दा मध्यम योगफलमै रोकिएको थियो । जुन भारतलाई हराउन पर्याप्त रन थिएन।

कप्तान नाज्मुल हसन शान्टो १७ बलमा ८ रन बनाउँदै रविन्द्र जडेजाको बलमा एलबीडब्लू आउट भए । मेहेदी हसन मिराज ३ रनमा क्याच आउट भए । लेग साइडमा सर्ट खेल्ने धुनमा राहुलले मिराजको क्याच उत्कृष्ट लिएका थिए ।

तौहिद हृदोय १६ रनमा आउट भए । मुश्फिकुर रहिम ४६ बलमा १ चौका र १ छक्कासहित ३८ रनमा आउट भए । महमुदूल्लाह रियाद ३६ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनमा आउट भए । नासुम अहमदले १८ बलमा २ चौकासहित १४ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ४७ रन खर्चेर १ विकेट लिए । मोहम्मद शिराजले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए।

जस्प्रित बुमराहले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए। भारतले पहिलो खेलमा अष्टेलियालाई ६ विकेट, अफगानिस्तानलाई ८ र पाकिस्तानलाई ७ विकेटले हराएको थियो। भारतले अव आइतबार न्युजिल्यान्डसँग खेल्नेछ।

न्युजिल्यान्ड ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ। भारत ४ खेलमा ८ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ। बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो। 

Logo