मिचेलको शतकमा न्युजिल्यान्डले दियो भारतलाई २७४ रनको लक्ष्य

मिचेलको शतकमा न्युजिल्यान्डले दियो भारतलाई २७४ रनको लक्ष्य


मध्यक्रमका ब्याटर डर्याल मिचेलको शतकमा न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा अलआउट हुँदै २७३ रन बनाएको हो । न्युजिल्यान्डका लागि मिचेलले १३० रनको सानदार अर्धशतकीय इनिङ खेले । १२७ बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे । उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो ।

सुरुवाती र अन्त्यतिर प्रदर्शन खस्किँदा न्युजिल्यान्ड बलियो चुनौती दिनबाट चुक्यो । डेभाेन कन्वे शून्य रन तथा याेङ १७ रनमा आउट हुँदा धर्मराएकाे न्युजिल्यान्डकाे ब्याटिङलाई लयमा ल्याउन दोस्रो विकेटका लागि मिचेल र रचिन रविन्द्रले १ सय ५९ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रविन्द्र ८७ बलमा ६ चौका र १ छक्कासहित ७५ रनमा आउट भए । ग्लेन फिलिप्स २३ रन जाेड्दा अन्य कुनैपनि खेलाडीले दाेहाेराे रन छुन सकेनन् । 

बलिङमा भारतका मोहम्मद शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए भने कुलदीप यादवले २ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले १–१ विकेट लिए ।
 

Logo