स्पेनिस लालिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एथ्लेटिक क्लब बिल्वाओलाई पराजित गरेको छ।
संघर्षपूर्ण खेलमा बार्सिलोनाले बिल्वाओलाई १-० ले पराजित गरेको हो। बार्सिलोनाको जितमा सोही खेलमा डेब्यु गरेका १७ वर्षीय मार्क गुयुले गोल गरेका हुन्।
खेलको १०औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसको पासमा जोआओ फेलिक्सले गरेको प्रहार क्रसबारको माथिल्लो भागमा लागेर बाहिरियो। १५औं मिनेटमा फर्मिन लोपेजको प्रहारलाई बिलबाओ गोलरक्षक उनाई सिमोनले उत्कृष्ट बचाउ गरे। २०औं मिनेटमा फेलिक्सको बक्स बाहिर बाट लिएको प्रहार सिमोनले सहजै बचाए।
५९औं मिनेटमा फर्मिनको अर्को प्रहार पोस्टको माथिबाट बाहिरियो। ६३औं मिनेटमा लमिन यमालको प्रयासले पनि पोस्टको दिशा लिन सकेन। ७५औं मिनेटमा जोआओ क्यान्सेलोको प्रहारमा सिमोन पुनः बाधक बने।
त्यसको एक मिनेट पछि इनाकी विलियम्सको भली बार्सिलोना गोलरक्षक मार्क आन्द्रे टर स्टेगनले पोस्टको माथि धकेले। पहिलो हाफको थपिएको समयमा निको विलियम्सको प्रहार टर स्टेगनले खुट्टाले बचाए।
अन्ततः खेलको निर्धारित समयको १० मिनेट बाँकी रहँदा बार्सिलोनाले खेलमा अग्रता लियो। ८०औं मिनेटमा एक मिनेट अघि मैदान प्रवेश गर्दै बार्सिलोनाका लागि डेब्यु गरेका १७ वर्षीय युवा स्ट्राइकर मार्क गुयुले अग्रता दिलाए। जोआओ फेलिक्सको थ्रु-पासमा उनले बिलबाओ डिफेन्स पछाडि रन बनाउँदै गोल गरेका थिए।
जित सँगै बार्सिलोनाले यस सिजनको लिगमा अपराजित यात्रा कायमै राखेको छ। साथै चिर प्रतिद्वन्दी रियल म्याड्रिड संगको अंक दूरी समेत घटाएको छ।
बार्सिलोना १० खेलमा २४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ। २५ अंक सहित रियल म्याड्रिड र जिरोना क्रमश: पहिलो र दोस्रो छन्। म्याड्रिडले शनिबार राति सेभिल्ला सँग १-१ को बराबरी खेलेको थियो।
लालिगामा बार्सिलोनाले अर्को साता रियल म्याड्रिडकै सामना गर्दै छ। सो ‘एल क्लासिको’ अघि भने दुवै टोली युरोपेली च्याम्पियन्स लिगका खेलहरुमा सामेल हुनेछन्।





























प्रतिक्रिया