डि ककको शतकमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई दियो ३८३ रनको लक्ष्य

डि ककको शतकमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई दियो ३८३ रनको लक्ष्य


ओपनर क्विन्टन डि ककको सानदार शतकीय इनिङमा दक्षिण अफ्रिकाले आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८२ रन बनाएको हो । दक्षिण अफ्रिकाका लागि ओपनर डि ककले सर्वाधिक १७४ रनको सानदार शतकीय इनिङ खेले । १४० बल खेलेका १५ चौका र ७ छक्का प्रहार गरे । जारी विश्वकपमा उनको यो तेस्रो शतक हो । 

त्यस्तै, मध्यक्रमका ब्याटर हेनरिच क्लासिनले सानदार अर्धशतकीय पारी खेले । ४९ बल खेलेका उनले २ चौका र ८ छक्का प्रहार गर्दै ९० रन जोडे । उनी शतकबाट भने चुके । उनले यसअघि पनि यस्तै विष्फोटिङ ब्याटिङ गर्दै शतक बनाएका थिए । साथै कप्तान माक्रमले ६० रन जोडे । डेभिड मिलर ३४ रनमा नटआउट रहे । 

बलिङमा बङ्गलादेशका हसन महमुदले २ विकेट लिँदा सकिव अल हसन, हसन मिराज र शोरिफुल इस्लामले समान एकएक विकेट लिए । 

भारतमा जारी विश्वकपमा दुवै टोलीले समान ४ खेल खेलेका छन्। जसमा दक्षिण अफ्रिकाले ४ मध्ये ३ मा जित हात पारेको छ भने बङ्गलादेशले १ खेलमा मात्रै जित हात पारेको छ।  दक्षिण अफ्रिका अङ्क तालिकाको तेस्रो स्थानमा रहँदा बङ्गलादेश पुछारबाट चौथो स्थानमा छ।

Logo